आइएमई लाइफको नाफामा उल्लेख्य सुधार, प्रतिसेयर आम्दानी पनि बढ्यो
१४ माघ, काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । वित्तीय विवरण अनुसार दोस्रो त्रैमासिकसम्म इन्स्योरेन्सको नाफामा उल्लेख्य सुधार भएको छ ।
दोस्रो त्रैमासिकसम्म कम्पनीले २३ करोड ४७ लाख २५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिसम्मको तुलनामा ९६.१४ प्रतिशतले बढी हो । गत वर्ष सोही अवधिसम्म कम्पनीले ११ करोड ९६ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
समिक्षा अवधिमा कम्पनीले लगानी तथा कर्जाबाट ६३ करोड ९२ लाख ७१ हजार रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको यो आम्दानी गत आवको दोस्रो त्रैमासको तुलनामा भने ८५.५३ प्रतिशत बढी हो ।
याे अवधिमा कम्पनीको खुद बीमा शुल्क आम्दानी ११.२० प्रतिशतले बढेर १ अर्ब ९९ करोड ५७ लाख ६४ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीको खुद बीमा शुल्क आम्दानी १ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ रहेकाे थियाे ।
कम्पनीको चुक्ता पुँजी ४ अर्ब रुपैयाँ छ । सो अवधिमा कम्पनीले सेयर प्रिमियममा भने १ अर्ब ५३ करोड बढी सञ्चित गरेको छ । यस्तै, कम्पनीले महाविपत्ती कोषमा १५ करोड ३५ लाख रुपैयाँ र जगेडा कोषमा ८५ करोड २ लाख रुपैयाँ राखेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) बढेर ११ रुपैयाँ ७४ पैसा कायम गरेको छ । भने कम्पनीको प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ २७ पैसा कायम छ ।
प्रकाशित मिति : १४ माघ २०८०, आईतवार १५:०४