८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

पाँच बीमा कम्पनीले घोषणा गरे लाभांश, चार कम्पनीका सेयरधनी निराश

१ माघ, काठमाडाैँ । बीमा कम्पनीहरुले लाभांश घोषणा सुरु गरेका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कम्पनीहरुमध्ये हालसम्म नौ बीमा कम्पनीले लाभांश सम्बन्धी प्रस्ताव पेश गरेका छन् ।

जसमध्ये पाँच वटा बीमा कम्पनीले आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् भने बाँकी चार वटा कम्पनीले सञ्चित मुनाफाबाट लाभांश नबाँड्ने निर्णय गरेका छन् ।

हालसम्म नेपाल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ, सिटिजन लाइफ र हिमालयन एभरेष्ट इन्स्योरेन्सले सेयरधनीका लागि लाभांश वितरण गर्ने निर्णय गरेका छन् । यसैगरी, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, हिमालयन लाइफ, नेको इन्स्योरेन्स र सानिमा रिलायन्स लाइफले भने लाभांश नबाँड्ने निर्णय गरेका छन् । यी कम्पनीका सेयरधनीकाे हात खाली हुने भएकाे छ ।

लाभांश प्रस्ताव गर्ने कम्पनीमध्ये नेपाल इन्स्योरेन्सले भने वार्षिक साधारण सभाबाटै प्रस्ताव पारित गरिसकेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

एनएलजी इन्स्योरेन्सले गत आवको मुनाफाबाट सेयरधनीहरुलाई ५.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२८९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।  त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सले गत आवको मुनाफाबाट ८.६३ प्रतिशत बोनस र ६.३७प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत प्रस्ताव गरेकाे छ । कम्पनीले लाभांश प्रस्ताव पारित गर्न माघ २५ गते ३०औं वार्षिक साधारण सभा बाेलाएकाे छ ।

यस्तै, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले १६ प्रतिशत बोनस सेयर र ०.८४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेका छन् । सिटिजन लाइफ इन्स्योरेन्सले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएका छन् ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार १४:१६