१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

मोरङका मेयरको इँटा उद्योगबाट गाँजा बरामत

२९ कात्तिक, मोरङ । मोरङको रंगेली नगरपालिका ३ मा सञ्चालित इँटा भट्टा उद्योगबाट प्रहरीले लागू औषध गाँजा बरामत गरेकाे छ । रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयाले सञ्चालन गरेको आनन्द इटा भट्टा उद्योगबाट प्रहरीले साढे दुई किलो गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय रंगेलीका अनुसार गाँजासहित भारत बंगाल कुसबिहार घर भएका ३० वर्षीय हेमन्त बर्मन पक्राउ परेका हुन् । उनी आनन्द इँटाभट्टामा मजदुरको रुपमा काम गर्दै आएका थिए । उद्योगमा क्यान्टिनसमेत सञ्चालन गरिरहेका बर्मनले भारत र नेपालबाट गाँजा मगाएर भट्टामा कार्यरत मजदुरलाई महङ्गोमा सप्लाई गर्ने गरेका थिए ।

प्रहरीका अनुसार बर्मनले प्रतिचिलिम ८० रुपैयाँका दरले मजदुरलाई बिक्री गर्ने गरेका थिए । सिजनमा भारतबाट कामका लागि आएका मजदुरलाई प्रतिचिलिम ५० भारुमा बिक्री गर्ने गरेका प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

इँटा उद्योगभित्र गाँजाको कारोबार हुने गरेको सूचनाका आधारमा छापा मार्दा झोलामा प्याक गरी लुकाई राखेको लागू औषध साढे दुई केजी गाँजा बरामत गरिएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कविन कुमार कार्कीले बताए । पक्राउ परेका बर्मनलाई जिल्ला अदालत मोरङबाट लागू औषध मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको बताए ।

प्रकाशित मिति : November 15, 2018 at 4:26 pm