१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

विकासको लागि राजनीतिक प्रतिस्पर्धा जरुरी छः काङ्ग्रेस सदस्य  बडू

२८ कात्तिक,दार्चुला । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडूले राजनीतिक प्रतिस्पर्धा अब विकासका लागि हुनुपर्ने बताउनुभएको छ । सामुदायिक ग्रामीण विकास समाज नेपालको आयोजना तथा नौ वटै स्थानीय तहको सहयोगमा दार्चुला सदरमुकाम खलङ्गामा सञ्चालन भएको अन्तर स्थानीय तहबीचको महिला भलिबल प्रतियोगिताको आज उद्घाटन गर्दै उहाँले विकासका लागि राजनीतिक प्रतिस्पर्धा जरुरी भएको बताउनुभएको हो ।

जनताले पाँच वर्षका लागि दिएको म्याण्डेटभित्र कसले के ग¥यो भन्ने फैसला जनताले गर्ने भन्दै उहाँले यसका लागि विकासमा प्रतिस्पर्धा आवश्यक रहेको बताउनुभयो । मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामीले मैत्रीपूर्ण महिला भलिबल खेलले एक अर्काे स्थानीय तहको सम्बन्धमा सुधार गर्न सहयोगी हुने बताउनुभयो ।

कार्यक्रममा जिल्लाका नौ वटा स्थानीय तहमध्ये आठ वटा स्थानीय तहको महिला भलिबल खेलाडीको सहभागिता रहेको छ । सामुदायिक ग्रामीण विकास समाज नेपालको २५औँ रजतजयन्ती तथा २६औँ साधारणसभाको अवसर पारी भलिबल प्रतियोगिता सञ्चालन भएको हो । नौ वटै स्थानीय तहको सहयोगमा सञ्चालन भएको प्रतियोगिताको प्राविधिक सहयोग जिल्ला खेलकूद विकास समितिले गरेको छ । प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : November 14, 2018 at 1:48 pm