विकास बैंकहरूले घटाउन थाले ब्याजदर, कुनको कति घट्यो ?
२७ मंसिर, काठमाडौं । विकास बैंकहरूले पनि ब्याजदर घटाउन थालेका छन् । हालसम्म दुई वटा विकास बैंकहरूले ब्याजदर घटाएका छन् । सांग्रिला डेभलपमेन्ट र गरिमा विकास बैंकले आजैदेखि नै लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।
सार्वजनिक गरेको ब्याजदर अनुसार सांग्रिला डेभलपमेन्ट बैंकले साधारण बचत खातामा न्यूनतम ४.८० प्रतिशतदेखि अधिकतम ६.८० प्रतिशतसम्म प्रदान गर्ने भएको छ । त्यस्तै सुनौलो रेमिट्यान्स खातामा भने ७.८० प्रतिशत ब्याजदर दिने बैंकले उल्लेख गरेको छ । यसअघि बैंकले साधारण बचत खातामा न्यूनतम ५.६० प्रतिशतदेखि अधिकतम ७.६० प्रतिशतसम्म ब्याजदर दिंदै आएको थियो भने सुनौलो बचत खातामा बैंकको ब्याजदर ८.६० प्रतिशत थियो ।
त्यस्तै, बैंकले व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ९ दिने भएको छ । बैंकले एक वर्षभन्दा बढीको समयावधिको लागि उक्त ब्याजदर तोकेको हो । यसअघि भने बैंकले १ वर्षमाथिको मुद्दती निक्षेपको ब्याजदर १०.६० प्रतिशत कायम गरेको थियो बैंकले ३ महिनादेखि ६ महिना मुनिको मुद्दती निक्षेपको ब्याजदर भने ८ प्रतिशत कायम गरेको छ । यसअघि १ वर्षको मुद्दती निक्षेपको ब्याजदर १०.५० प्रतिशत निर्धारण गरेको थियो ।
यस्तै, गरिमा विकास बैंकले मुद्दती निक्षेपको अधिकतम ब्याजदर ९.४० प्रतिशत दिने भएको छ । बैंकले १ वर्षमाथिको मुद्दती निक्षेपमा उक्त ब्याज प्रदान गर्ने भएको हो । एक वर्षभन्दा कम अवधिको मुद्दति निक्षेपको ब्याजदर ९.३० प्रतिशत निर्धारण गरेको छ । यसअघि बैंकले एक वर्षमाथिको मुद्दति निक्षेपको ब्याजदर ९.७५ प्रतिशत र सोभन्दा कम अवधिको लागि ९.५० प्रतिशत कायम गरेको थियो ।
प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार १२:२२