२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

राष्ट्रिय बीमा संस्थान बन्यो जीवन बीमा कम्पनी, आईपीओ निष्कासन गर्ने

२० मंसिर, काठमाडाैं। नेपाल बीमा प्राधिकरणले राष्ट्रिय बीमा संस्थालाई जीवन बीमा कम्पनी लिमिटेडमा परिणत हुने अनुमति प्रदान गरेको छ। प्राधिकरणले राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको नाममा जीवन बीमकको प्रमाणपत्र जारी गरेको हो।

प्राधिकरणले राष्ट्रिय बीमा संस्थानलाई शर्तसहित कम्पनीमा रुपान्तरण हुन स्वीकृति दिएको छ । विभिन्न शर्तसहित संस्थानलाई जीवन बीमक कम्पनीको प्रमाणपत्र जारी दिएको बताइएको छ ।

अब पब्लिक कम्पनीमा रुपान्तरण भएसँगै उसले सर्वसाधारणलाई आईपीओ जारी गर्नुपर्ने छ। ऐनमा कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याउने पर्ने व्यवस्था छ। हाल कम्पनीको चुक्तापूँजी १८ करोड १० लाख रुपैयाँ मात्रै छ।

कम्पनीले आगामी एक वर्षभित्र ५ अर्ब रुपैयाँ चुक्तापूँजी पुर्याउनुपर्ने छ । यसका लागि कम्पनीले सार्वजनिक निष्कासनमार्फत सर्वसाधारणलाई सेयर जारी गर्नुपर्दछ । संस्थानमा सरकारको २७.७८ प्रतिशत, राष्ट्र बैंकको ५५.५५ प्रतिशत र नेपाल बैंकको १६.६७ प्रतिशत सेयर स्वामित्व छ।

प्राधिकरणले विभिन्न शर्तसहित संस्थालाई जीवन बीमक कम्पनीको प्रमाणपत्र जारी गरेकाे छ ।   ६ महिनाभित्र राष्ट्रिय जीवन बीमा कम्पनीको नाममा जीवन बीमा व्यवसाय सुरु गर्नुपर्ने, १ वर्षभित्र ५ अर्ब रुपैयाँ पुर्याउनु पर्ने, कम्पनीमा परिणत हुनु अघिका आर्थिक वर्षहरुको सम्पत्ति तथा दायित्वको बीमाङ्कीय मूल्यांकन गराई सोको प्रतिवेदन ६ महिनाभित्र पेश गर्नुपर्ने, कम्पनीमा परिण हुनुअघिसम्मका आर्थिक वर्षको लेखापरीक्षण गरिएको वित्तीय विवरण पेश गर्नुपर्ने, सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारण नीति, प्रक्रिया तथा कार्यक्रम अद्यावधिक गरी १ महिनाभित्र पेश गर्ने र प्राधिकरणले जारी गरेका निर्देशिका तथा तोकेका अन्य शर्तहरु समेत पालना गर्नुपर्ने रहेका छन्।

प्रकाशित मिति : December 6, 2023 at 12:33 pm