८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

तीन महिनामा विकास बैंकको नाफा १ अर्ब १० करोडः पाँच बैंकको नाफा घट्दा तीनको बढ्यो

१७ कात्तिक, काठमाडौं । राष्ट्रियस्तरका ८ वटै विकास बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्। बैंकले सार्वजनिक गरेको विवरणअनुसार विकास बैंकहरूको नाफा सामान्य बढेको छ । चालु आर्थिक वर्षको तीन महिनामा विकास बैंकहरुले १ अर्ब १० करोड ७५ लाख ८६ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् ।

विकास बैंकमध्ये पनि ३ वटा बैंकको नाफा बढेको छ भने ५ वटा बैंकको नाफा घटेको छ। असोज मसान्तसम्म मुक्तिनाथ विकास बैंकको नाफा २५.५७ प्रतिशतले घटेर २२ करोड ८८ लाख ६ हजार रुपैयाँ कायम भएको छ । यस्तै ज्योति विकास बैंकको नाफा ४९.२४ प्रतिशतले घटेर ५ करोड ८ लाख २ हजार, सांग्रिला डेभलपमेन्ट बैंकको नाफा १५.८१ प्रतिशतले घटेर ४ करोड ६५ लाख ९१ हजार रुपैयाँ, महालक्ष्मी विकास बैंकको नाफा २०.०७ प्रतिशतले घटेर ९ करोड ५३ लाख ७८ हजार र साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा ८.३५ प्रतिशतले घटेर १९ करोड १६ लाख ५४ हजार रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा गरिमा विकास बैंकको नाफा बढेको छ । यो अवधिमा बैंकको नाफा ४.२५ प्रतिशतले बढेर २० करोड १५ लाख ५४ हजार रुपैयाँ पुगेको छ । यस्तै लुम्बिनी विकास बैंकको नाफा १४३ प्रतिशतले बढेर १७ करोड ३२ लाख ८० हजार रुपैयाँ पुगेको छ भने कामना सेवा विकास बैंकको नाफा १८७.५७ प्रतिशतले बढेर ११ करोड ९५ लाख २१ हजार रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार १६:०२