२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

दुई घण्टादेखि प्रचण्ड ओली ‘वान टु वान’ छलफलमा, फकाउँदै छन कि थर्काउँदै ?

१० कार्तिक, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा दुई घण्टादेखि ‘वान टु वान’ भेटवार्ता  चलिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी दुई नेताको भेटवार्तालाई विभिन्न कोणबाट विश्लेषण गरिएको छ । यद्यपी आधिकारिक रूपमा उनीहरूको भेट केका लागि हो भन्ने विषयमा केही खुलेको छैन ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रचण्ड र ओलीको बीचमा दुई घण्टादेखि छलफल चलिरहेको पुष्टि गरे पनि भेटघाटको विषयका बारेमा छलफल सकिएपछि मात्र बताउन सकिने बताए । दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार पुगेका एमाले अध्यक्ष ओली अहिले पनि प्रधानमन्त्री प्रचण्डसँग वान टु वान वार्तामा बसिरहेका छन ।

यसअघि कोशी प्रदेशमा नेपाली कांग्रेसका नेता शेखर कोइरालासँग लिखित सहमति नै गरेर कोशीमा हलचल पैदा गरेर प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालाई कापीको पानाको चिर्कटोमा एक बाक्यको सहमतिमा हस्ताक्षर गर्न बाध्य पारेर एमालेले प्रस्ताव गरेको मुख्यमन्त्री कांग्रेस नेता केदार कार्कीको पक्षमा विश्वासको मत दिन समेत बध्य तुलाएका ओलीले शुक्रबारको भेटमा प्रचण्डलाई फकाउँदै छन कि थर्काउँदै भन्ने प्रश्न निर्णायक देखिएको छ ।

पशुपतिको जलहरी प्रकरणदेखि सय किलो सुन तस्करी प्रकरणसम्ममा सरकारलाई धम्की दिँदै आफ्नो एजेण्डामा घुँडा टेक्न बाध्य पारेका ओलीले पछिल्लो राजनीतिक परिघटनाका विषयमा केही गम्भीर विषयमा छलफल गरेको अनुमान गरिएको छ । निकै नै उतारचढावयुक्त सम्बन्ध र विगत बनाएका ओली र प्रचण्डबीचको भेटवार्ता अर्थपूर्ण रहेको भए पनि बाँकी नतिजा र छलफलको विषयबारे भने छलफल नसकिदाँसम्म अनुमानमात्र गर्न सकिन्छ ।

प्रकाशित मिति : October 27, 2023 at 4:23 pm