२४ बैशाख २०८१, सोमबार | Tue May 7 2024

चिर्कटो सहमतिमा प्रधानमन्त्रीको हस्ताक्षर, कसले गर्यो डा शेखर कोइरालाको नाममा कीर्ते ?


-पवित्रा मुडभरी

२७ असोज, काठमाडौँ । नेपालको सत्ता राजनीतिमा अनेक घटना र परिघटना दोहोरिरहन्छ । राजनीतिमा रहेकाहरूले लाज र सरम मान्ने हो भने पनि उस्तै खालका घृणित क्रियाकलापहरू अलि कम हुने थियो । तर हरेक कमजोरीबाट थप उत्साहित भएर उनीहरू अर्को कमजोरीका लागि तम्सिरहेका हुन्छन ।

देशको प्रधानमन्त्रीले प्रधानमन्त्री मात्रैको हैसियत खुलाएर एउटा कपीको चिर्कटोमा हस्ताक्षर गर्नु कति सुहाउँदो विषय भन्ने बहसको विषय हो । यसमा विज्ञहरूले राय र तर्कहरू देलान तर एक सामान्य नगरिकले पनि बुझ्ने यथार्थ भनेको प्रधानमन्त्रीले गर्ने तमसुक चिर्कटोमा हुँदैन । बिडम्बना प्रधानमन्त्री प्रचण्डले शनिबार बालुवाटारमा शेरबहादुर देउवासँगै आफूले पनि एउटा चिर्कटोमा हस्ताक्षर गरेका छन । उक्त हस्ताक्षरमा सत्ता गठबन्धन भत्किन नदिने लिखित सहमति भनेर उल्लेख गरिएको छ ।

सत्ता गठबन्धन जोगाउने स्वार्थमा हस्तलिखत उक्त चिर्कटोमा प्रधानमन्त्री प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका छन । उक्त सहमतिमा नाम उल्लेख भएका नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाको हस्ताक्षर भने कीर्ते गरिएको सहजै अनुमान गर्न सकिन्छ ।

सुरूमा उक्त हस्ताक्षर कीर्ते गर्नेले मोटो ‘श’ लेख्न खोज्दा बिग्रिएपछि ‘शेदवुर’ लेखेका छन । शेखर लेख्न खोज्दा यसरी बिग्रिएको देखिन्छ । शेखरको हस्ताक्षरमा शेखर कोइराला लेखेर शेखर र कोइराला अन्डरलाइन गरेर जोड्ने र त्यसको मुनी दुईवटा थोप्लो हान्ने गरेका छन । उक्त चिर्कटोमा भएको प्रचण्ड र देउवाको हस्ताक्षर भने उनीहरूको प्रचलनमा रहेकै हस्ताक्षर रहेको छ । डा कोइरालाको प्रचलनमा रहेको हस्ताक्षरसँग शनिबार चिर्कटोमा गरिएको हस्ताक्षरको छेउटुप्पो केही पनि मेल खाँदैन ।

विभिन्न समयमा प्रयोग भएका डा शेखर कोइारालाका हस्ताक्षरहरू रातो घेरामा ।

हामीले शेखरका विगतमा विज्ञप्ति, शुभकामना र अन्य औपचारिक काममा प्रयोग भएको हस्ताक्षर हेर्दा शनिबारको चिर्कटोको हस्ताक्षरसँग कुनै मेल खाएको देखिएन । त्यसपछि हामीले शेखरको मोइबालमा पटक पटक सम्पर्कको प्रयास गरे पनि सफल हुन सकेन । शेखरका स्वकीय सचिव दिनेशचन्द्र थपलियासँग यससम्बन्धी बुझ्न खोज्दा उनको मोबाइल पनि अफ थियो ।

हामीले शेखरको पाटोबाट यसमा थप पुष्टि हुन नसकेपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द्र आचार्यसँग यस सम्बन्धी चासो राख्दा उनले हस्ताक्षर शेखरले नै गरेको दाबी गरे । आचार्यले शेखरले हस्ताक्षर गरेको भिडियो समेत सुरक्षित रहेको दाबी गरे । आचार्यले दाबी गरे पनि चिर्कटोको हस्ताक्षर हेर्दा उनको औपचारिक प्रयोगमा रहेको हस्ताक्षरसँग कुनै मेल खाँदैन । यद्यपी केही दिनमा यस विषयको पक्कै पटाक्षेप हुनेनैछ ।

प्रचण्ड र देउवा किन पुगे चिर्कटोमा ?

कोशी प्रदेशमा सत्ता गठबन्धन समाप्त भएपछि उनीहरूले गठबन्धन ठीकै छ भन्नका लागि यस्तो हस्ताक्षर र सहमति सार्वजनिक गरेका हुन । नेपाली कांग्रेसका मुख्यमन्त्रीका उम्मेदवार केदार कार्कीलाई समर्थन दिएर एमालेले सत्ता गठबन्धन नै समाप्त पारेपछि अतालिएका प्रचण्ड र देउवाले शनिबार बिहानै बालुवाटारमा बसेर चिर्कटो सहमति गरेका हुन । यो चिर्कटो सहमतिले कोशीमा रहेको सात दलीय सत्ता गठबन्धन जोगाउन सक्ला कि नसक्ला त्यसका लागि  केही साता कुर्नुपर्छ ।

शनिबारको चिर्कटो सहमति ।

सात दलीय गठबन्धनले नेकपा माओवादी केन्द्रका इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने लिखित सहमति नै गरेको थियो । बालुवाटारमा सात दलका नेता भेला भएर त्यस्तो सहमति गरी हस्ताक्षरसहित उक्त सहमति सार्वजनिक गरेका थिए । तर त्यसको भोलि पल्टै कांग्रेसका केदार कार्की बोकेर एमाले मुख्यमन्त्री बनाउन प्रदेश प्रमुखको कार्यालयमा पुगेपछि गठबन्धनमा सन्नाटा छाएको थियो । एमालेले साथ दिएका कार्की शनिबार नै मुख्यमन्त्रीमा नियुक्त भैसकेका छन ।  कार्कीको पक्षमा ४७ जना सांसदले हस्ताक्षर गरी सनाखत समेत गरेका छन ।

अब सत्ताको जोडघटाउमा माहिर रहेका दलहरूले कार्कीलाई नै विश्वासको मत दिने सम्भावना छ । शनिबारको चिर्कटको सन्देश पनि त्यही हुन सक्छ । यद्यपी प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेसँगको गठबन्धन बनाएर कांग्रेससँग पनि विश्ववासको मत लिएर पछि एमालेलाई लात हानेजस्तै गर्छन की कार्कीले इमान्दारिता देखाउछन त्यसका लागि केही दिन कुरे पुग्नेछ । एमालेका कतिपय कार्यकर्ताले भने केदार चिसो मान्छे रहेकाले धोका दिने विश्लेषण गरेका छन ।

असोज २५ मा सात दलले मुख्यमन्त्री बनाउन गरेको निर्णय ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार १८:४६