१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

कांग्रेस सभापति देउवाले पार्टी एक ढिक्का बनाएर विश्राम लिने

१७ कात्तिक, काठमाडाैँ । नेपाली काङग्रेसका सभापति शेरबहादुर देउवाले संविधान घोषणापछि सम्पन्न तीन तहको निर्वाचनबाट नेपाली काङ्ग्रेस पार्टीको सिद्धान्त विजय भएको बताउनुभएको छ ।

दशैँ, तिहार, छठ तथा नेपाल संवत्को उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्न काङ्ग्रेस काठमाडौँ महानगरपालिका–४ कार्यसमितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा देउवाले तीन तहको निर्वाचनपछि काङ्ग्रेसले अपेक्षित मत परिणाम ल्याउन नसके पनि अर्को निर्वाचनमा पार्टीलाई पहिलो नम्बर बनाउनका लागि आफू निरन्तर लागि रहने र पार्टीलाई एक ढिक्का बनाइसकेपछि मात्र विश्राम लिने बताउनुभयो ।

उहाँले देश अप्ठ्यारो अवस्थामा रहेको चर्चा गर्दै मुलुकमा बलात्कार तथा हिंसाजन्य अपराध धेरै बढेको र सरकारले पीडितलाई न्याय दिन नसकेको उल्लेख गर्नुभयो ।


काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले काङ्ग्रेस एक ढिक्का भई निर्वाचनमा गएमा अर्को पटक काङ्ग्रेसले निर्वाचन जित्न सक्ने विचार व्यक्त गर्नुभयो । उहाँले गएको निर्वाचनमा पार्टीभित्रको गुट उपगुटका कारण पार्टीले पराजय भोग्नुपरेको बताउनुभयो ।

पूर्वमन्त्री डा प्रकाशशरण महतले काङ्ग्रेसको नेतृत्वमा नेपालमा शान्ति स्थापना भएको, संविधान जारी भएको तथा तीन तहको निर्वाचन सम्पन्न भएको बताउनुभयो ।

अर्का पूर्वमन्त्री नरहरि आचार्यले लोकतन्त्रमा सत्ता पक्षको साथै प्रतिपक्षको पनि उत्तिकै भूमिका रहने विचार राख्नुभयो । काङ्ग्रेस काठमाडौँ जिल्ला अध्यक्ष सबुज बानियाँ, नेपाल महिला सङ्घ काठमाडौँ क्षेत्रीय सभापति भवानी केसी, प्रदेशसभा सदस्य नारायण सिलवाललगायतका वक्ताले बोल्नुभएको सो समारोहको सभापतित्व वडा नं ४ काङ्ग्रेस कार्यसमितिका अध्यक्ष रामप्रसाद न्यौपानेको सभापतित्वमा भएको थियो । रासस

प्रकाशित मिति : November 3, 2018 at 2:48 pm