२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

कांग्रेस नेता ऋषिराम अर्याल भ्रष्टाचारी ठहर, १८ करोड अकुत सम्पत्ति कमाएको प्रमाणित

४ असोज, काठमाडौँ । नेपाली कांग्रेसको टोखा नगरपालिकाका उपसभापति ऋषिराम अर्याल अदालतबाट भ्रष्टाचारी ठहर भएका छन । टोखा नगरपालिकाको तत्कालीन कार्यकारी अधिकृत समेत रहेका अर्यालले भ्रष्टाचार गरेर करिब १८ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको विशेष अदालतले ठहर गरेको छ । विशेष अदालतका न्यायाधीशत्रय श्रीकान्त पौडेल, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको पूर्ण इजलाशले अर्याललाई भ्रष्टाचारी ठहर गरेको हो ।

असोज २ गते मंगलबार विशेष अदातलले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको मागदाबी अनुसार कसुर ठहर गरेको हो । सजाँय निर्धार हुन बाँकी रहेका कारण अर्यालको श्रीमती लक्ष्मीदेवी उपाध्याय अर्याल र छोराहरु सुशिल अर्याल तथा सुनिल अर्याल समेतको सम्पत्तिमात्र जफत हुन्छ वा उनीहरूलाई पनि कैद हुन्छ त्यो केही दिनमा थाहा हुनेछ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत्त सम्पत्ति आर्जनको मुद्दामा अनुसन्धान गरी २०७७ जेठ ७ गते ऋषिराम र उनको परिवारकोविरूद्धमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । अर्यालले १७ करोड ८३ लाख ४१ हजार ५७९ रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको अख्तियारको अनुसन्धानबाट देखिएको थियो विशेषले पनि सोही अनुसार कसुर ठहर गरेको छ ।

अर्याल जिल्ला विकास समितिको कार्यालय स्याङ्जाबाट गाविस सचिव पदमा स्थायी नियुक्ति लिएर निजामती सेवामा प्रवेश गरेका थिए । नायव सुब्बा पदमा बढुवा भएर काठमाडौँ जिल्लाको साविक भिमढुंगा गाविस लगायत टोखा नगरपालिकाका कार्यालयहरु समेतमा अर्यालले काम गरेका थिए । शाखा अधिकृतको पदबाट अनिवार्य अवकाश पाएका अर्यालले अधिकांश जग्गाहरु आफू कार्यरत गाविस तथा नगरपालिका अन्तर्गतका स्थानहरुमा कार्यरत अवधिमा जोडेका छन् । अवाकपछि भने उनी नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भएर लागेका छन ।

अर्यालले २०३९ साल साउन १ गते जिल्ला विकास समितिको कार्यालय स्याङ्जाबाट गाविस सचिव पदमा नियुक्ति लिई ३७ वर्ष सेवा गरेका थिए । ३७ वर्ष सरकारी सेवा गरेका अर्यालले २६ करोड ६० लाख ६९ हजार ६२ रुपैयाँको कारोबार गरेको देखिएको अख्तिायरले जनाएको छ । उक्त अवधिमा उनले ८ करोड ७७ लाख २७ हजार ४ सय ८३ रुपैयाँ मात्रै वैध ढङ्बाट आर्जन गरेको देखिएको छ ।

उनले अधिकांश सम्पत्तिहरु आफ्नो श्रीमती लक्ष्मीदेवी उपाध्याय अर्याल तथा छोराहरु सुशिल अर्याल र सुनिल अर्यालको नाममा राखेका छन । अर्यालले विभिन्न स्थानमा घरजग्गा, शेयर खरिद गरी श्रीमती र छोराहरुको नाममा राखेको अनुसन्धानबाट पत्ता लागेको थियो । अर्यालले कागज उद्योगसमेत सञ्चालन गरेको पाइएको छ ।

उनलाई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ (ग) दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख. बमोजिम अकुत सम्पत्ति जफत गरी जफत गरिएका सम्पत्तिबाट नपुग हुन आएको बिगोसमेत कानून बमोजिम असुल गरी पाउन अख्तियारले माग गरेको थियो ।

प्रकाशित मिति : September 21, 2023 at 9:00 am