१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नुवाकोटको मंगलादेवी माविका प्रअले छोरीका लागि विद्यालयको इज्जत लुटे, पालिका अध्यक्षको संरक्षण


२७ भाद्र, काठमाडौँ । नुवाकोट सूर्यगढी गाउँपालिका–१ स्थित मंगलादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक दत्तप्रसाद न्यौपाने विद्यालयकै इज्जत लुटेका छन । आफ्नो छोरीलाई राहत कोटामा जागिर खुवाउन प्रधानाध्यापक न्यौपानेले विज्ञापन गरेर पनि अन्यको निवेदन लिन अस्वीकार गरेका हुन । विद्यालयले भदौ १२ गते शिक्षक आवश्यकताको विज्ञापन गरेको थियो । भदौ २६ को अन्तिम मितिसम्ममा दरखास्त पेश गर्न मिल्ने सूचना जारी भएको भए पनि प्रअ न्यौपानेले छोरीलाई जागिरमा राख्नका लागि अन्यको निवेदन नै दर्ता गर्न अस्वीकार गरेका छन ।

उनले त्यसका लागि छोरीको निवेदन अन्तिम समयमा मात्र दर्ताको तयारी गरेका थिए । जसका कारण अन्यलाई पनि निवेदन दर्ता गर्नै परे अन्तिम समयमा गरौँला भनेर फर्काएका छन । तर विदुर नगरपालिका–४ की नानुमैया नेपालसँग भनेर न्यौपानेले चर्को विवाद गरेका छन । नेपालले सूचना अनुसार दरखास्त दर्ताका लागि अनुरोध गरे पनि प्रअ न्यौपानेले ठूलो कुरा नगर भन्दै उल्टै धम्काएका छन । उनीहरूबीचको संवाद दैनिकीले प्राप्त गरेको छ । उक्त संवाद यहाँहरूले पनि तल सुन्न सक्नुहुन्छ । उक्त संवाद सुन्दा प्रधान्याध्यापकको हैसियतामा दत्तप्रसादले विद्यालयको इज्जत लुटेको पुष्टि हुन्छ । उनले आफ्नो हैसित बिर्सेर खुला प्रतिस्पर्धाको नाममा छोरीलाई एकल उम्मेदवार बनाउन यो हर्कत गरेको बुझिन्छ ।

शिक्षक सेवा आयोगको खुल्ला प्रतिस्पर्धामा गत चैतमा वैकल्पिकमा परेर करार सूचीमा सूचीकृत भएकी थिइन् । यस्ता उम्मेदवारलाई स्वतः राहत दरबन्दीमा नियुक्ति दिनुपर्ने व्यवस्था छ । उक्त कुरा विज्ञापनमा पनि उल्लेख छ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले आयोगका करार सूचीमा परेकालाई प्राथमिकता दिएर शिक्षक नियुक्ति गर्न देशभर सर्कुलरसमेत गरेको छ । नेपाललाई नियुक्ति गर्दा छोरी अञ्जु न्यौपाने प्रतिस्पर्धाबाट स्वतः बाहिरिने भएपछि दरखास्त नै दर्ता नगरिएको गाउँपालिकाका एक जना जनप्रतिनिधिले दैनिकीसँग बताए । उनले गाउँपालिका अध्यक्ष सन्तबहादुर घलेको संरक्षणमा यस्तो काम गरेको बताए । प्रअ न्यौपानेले नेपालसँगको कुराकानीमा पनि यस्तो कुरा संकेत गरेका छन ।

शिक्षा विकास तथा समन्वय इकाइ नुवाकोटको स्वीकृतिमा दुई जना राहत अनुदान दरबन्दीमा शिक्षक नियुक्ति गर्न भदौ १२ गते विद्यालयले विज्ञापन गरेको थियो । राहत दरबन्दी शिक्षा मन्त्रालयले तलबसुविधा अनुदान दिने कोटा हो ।

दैनिकीको सम्पर्कमा आएका विद्यालयका एक शिक्षकले गाउँपालिका अध्यक्षका लागि एउटा कोटा दिएर प्रधानाध्यपकले आफ्नो छोरीका लागि अर्को कोटा सिर्जना गरेको दाबी गरे । प्रस्तावित शिक्षा विधेयकमा राहत शिक्षकलाई स्वतः स्थायी दरबन्दीमा परिणत गर्ने र स्थायी हुन निश्चित प्रतिशतलाई आन्तरिक प्रतिस्पर्धा गराउने प्रस्ताव गरिएको छ । यसैको फाइदा उठाउन प्रधानाध्यापक न्यौपानेले छोरीका लागि विद्यालयको इज्जत लुट्ने काम गरेको बुझिन्छ ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार २१:१२