१३ मंसिर २०८१, बिहीबार | Thu Nov 28 2024

कांग्रेस नेतृत्वको कुश्मा नगरपालिकाद्धारा अन्य सरकारी कार्यालयको भवन कब्जा

१६ कात्तिक, काठमाडाैँ । नेपाली कांग्रेस नेतृत्वको पर्वतको कुश्मा नगरपालिकाले अन्य सरकारी कार्यालय कब्जा गरेको छ । बिहीबार कुश्मा नगरपालिकाका वडाअध्यक्ष र नगरपालिकाका कर्मचारी मिलेर अन्य सरकारी कार्यालयको भवन कब्जा गरेका हुन । उनीहरूले दुई सरकारी कार्यालयमा नगर कार्यपालिकाको साइनबोर्ड टाँगेका छन ।

कुश्मामा रहेका साविकको जिल्ला पशुसेवा कार्यालय र सीप विकास तालिम केन्द्रको भवनमा नगरपालिकाले बोर्ड टाँगिएको छ ।नगरपालिकालाई कुनै पनि सरकारी भवन उपलब्ध नगराउने षड्यन्त्र देखिएपछि सुझबुझपूर्ण ढंगले नै खाली भएका कार्यालयहरुमा नगर कार्यपालिकाको बोर्ड राखिएको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासकुमार लामिछानेले बताएका छन ।

जिल्ला समन्वय समिति, स्थानीय प्रशासनसँगको समन्वयबिना कार्यालयहरुमा धमाधम बोर्ड राखिएको हो । कार्यालयमा बोर्ड राख्ने क्रममा नगरपालिकाका प्रमुख र उपप्रमुख भने अनुपस्थित रहेका थिए । नगरप्रमुख रामचन्द्र जोशी विदेश भ्रमणमा छन भने उपप्रमुख सिता काफ्ले लामिछाने भने अनुपस्थित देखिएका थिइन । नेपाली कांग्रेससँग जोडेर घटना अतिरञ्जित हुनसक्ने भन्दै उपप्रमुख अनुपस्थित रहेको उनी निकट एक वडा अध्यक्षले बताए । नगरपालिकाको प्रमुख र उपप्रमुख दुबै जना नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।

तस्बीरहरूः पत्रकार गणेश गिरीको फेसबुक वालबाट ।

प्रकाशित मिति : १६ कार्तिक २०७५, शुक्रबार १०:४६