८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

‘नाडा अटो शो–२०२३’ भदौ २६ गतेदेखि, १२० वटा स्टल र ब्लक रहने

११ भलाै, काठमाडाैं । ‘नाडा अटो शो–२०२३’ आगामी भदौ २६ गतेदेखि ३१ गतेसम्म आयोजना हुने भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सोमबार पत्रकार सम्मेलन गरी ‘नाडा अटो सो २०२३’ आयोजना गर्ने जनाएकाे हाे।

प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डका सवारी साधन, पाटपुर्जा, टायर, लुब्रिकेन्ट, ग्यारेज उपकरण, ब्याट्री तथा वित्तीय संस्थाहरुको सहभागिता रहने नाडाले जानकारी दिएको छ ।

काठमाडाैंकाे भृकुटीमण्डपको प्रदर्शनीस्थलमा आयोजना हुने अटो शोको शीर्ष प्रायोजक टाटा मोटर्स जेनुइन आययल रहेको छ भने सहप्रयोजकमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । यसैगरी प्रदर्शनीको डोर प्राइजमा याडिया, टिकटिङ पार्टनरमा खाल्ती, अफिसियल इन्टरनेट पार्टनर वर्ल्डलिंक, फायर सेफ्टी सपोर्टमा हिटको प्रालि, हस्पिटल पार्टनरमा फ्रन्टलाइन हस्टिललजस्ता संस्थाहरु छन् तथा प्रदर्शनी व्यवस्थापन ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिस रहेको छ।

बजार सुस्तताका बाबजुद प्रदर्शनीमा विभिन्न अटोमोबाइल कम्पनीहरुको उत्साहजनक सहभागिताले केही हदसम्म अर्थतन्त्र चलायमान बनाउन यस किसिमको व्यापारिक गतिविधिको योगदानलाई प्रस्ट पार्ने नाडाले जनाएको छ ।

आयोजकका अनुसार आर्थिक सुस्तताले अटोमोबाइल व्यवसायीमा नकारात्मक प्रभाव पार्नुका साथै सवारी साधन खरिदकर्ताको वित्तीय योजनामा समेत असर गरेको छ । यस अवस्थामा नाडा अटो सोले बजार चलायमान बनाउन मद्दत पुग्ने आयोजकको ठहर छ ।

सँगै नेपाली चाडपर्वको पूर्वार्धमा आयोजना हुन गइरहेको प्रदर्शनीले अटो व्यवसायी, ग्राहक, गाडीप्रेमी र अटोमोबाइलसँग प्रत्यक्ष-अप्रत्यक्ष रुपमा संलग्न सबैलाई उत्साहपूर्वक सहभागी गराउने आयोजकले विश्वास लिएको छ ।

प्रदर्शनीमा करिब १२० वटा स्टल र ब्लक रहनेछन् । प्रदर्शनमा प्रख्यात अन्तर्राष्ट्रिय ब्रान्डका सवारीसाधन, लुब्रिकेन्ट, टायर, पार्टपुर्जाका साथै राष्ट्रिय ब्रान्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकको सहभागितासमेत रहनेछ।

प्रदर्शनीमा १६ वटा ब्रान्डका चार पाङग्रे, २२ वटा ब्रान्डका दुई पाङग्रे, ७ वटा ब्रान्डका लाइट कमर्सियल भेहिकल, ९ वटा वित्तीय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याटरी, पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनीको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार १६:२७