५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

इसेवा मनी ट्रान्सफर र साउदीको इन्जाज पेमेन्ट सर्भिसेज कम्पनीबीच रेमिट्यान्स भुक्तानी सम्झौता

५ भदाै, काठमाडाैं । इसेवा मनी ट्रान्सफर र साउदी अरेबियाको इन्जाज पेमेन्ट सर्भिसेज कम्पनीबीच रेमिट्यान्स भुक्तानी सम्बन्धमा सम्झौता भएको छ।

रेमिट्यान्स भुक्तानी सम्झौता पत्रमा एफवान सफ्ट गुरूपका अध्यक्ष विश्वास ढकाल र इन्जाज पेमेन्ट सर्भिसेज कम्पनीका प्रमुख कार्यकारी अधिकृत खालिद अल जैनले हस्ताक्षर गरेका छन्। यस सम्झौतासँगै साउदी अरेबियामा बसोबास तथा काम गर्दै आएका नेपालीहरुले इन्जाज पेमेन्टको १५० शाखा, पीओएस, किअस्कस् वा मोबाइल एप र वेबसाइटबाट नेपालमा इसेवा मनी ट्रान्सफरमार्फत रेमिट्यान्स पठाउन सकिने छ।

यसका साथै इन्जाज पेमेन्टबाट पठाएको रेमिट्यान्स इसेवा मनी ट्रान्सफरका १३ हजार ८०० भन्दा बढी भुक्तानी केन्द्र, बैंक तथा वित्तीय संस्थाहरु तथा इसेवाका १ लाखभन्दा बढी क्यास प्वइन्ट र ७५ लाखभन्दा बढी प्रयोगकर्ताले वालेटबाट सहजै प्राप्त गर्न सक्नेछन्।

रेमिट्यान्स भुक्तानी सम्झौता कार्यक्रममा एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले भने, ‘इन्जाजजस्तो प्रतिष्ठित संस्थासँग साझेदारी गर्न पाउँदा हामी अत्यन्तै गौरवान्वित छौँ। इन्जाजका भौतिक र डिजिटल च्यानलहरुको व्यापक लाभ उठाउँदै साउदी अरेबियामा कार्यरत नेपाली समुदायलाई सहज र सर्वसुलभ रेमिट्यान्स सेवा प्रदान पाउँदा निकै हर्षित छौँ।’

कार्यक्रममा इन्जाज पेमेन्ट सर्भिसेज कम्पनीका प्रमुख कार्यकारी अधिकृत, खालिद अल जैनले भने, ‘इसेवा मनी ट्रान्सफर नेपालको एक उत्कृष्ट रेमिटेन्स कम्पनीमात्र नभई एफवान सफ्ट ग्रुपको एक भगिनी संस्था पनि हो, जसले नवीनतम् फिनटेक सेवाहरुमार्फत नेपालमा डिजिटल भुक्तानी इकोसिस्टमलाई संस्थागत गरेको छ र हामी साउदी अरेबियामा रहेका नेपालीहरुलाई रेमिट्यान्स सेवा उपलब्ध गराउन इसेवा मनी ट्रान्सफरसँग साझेदारी गर्न पाउँदा निकै उत्साहित छौँ।’

इन्जाजको मुख्य कार्यालय रियादमा आयोजित विशेष समारोहमा एफवान सफ्ट ग्रुपका ग्रुप स्ट्राटेजी डाइरेक्टर डेनियल डी श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाको पनि उपस्थिति रहेको थियो।

इसेवा मनी ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ७५ लाखभन्दा बढी प्रयोगकर्ता र कुनै पनि बैंक तथा वित्तीय संस्थाको खातामा विप्रेषण रकम भित्र्याउँदै आएको छ। इसेवा मनी ट्रान्सफरले सेवाग्राहीलाई आफ्ना १३ हजार, ८०० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका १ लाखभन्दा बढी क्यास प्वइन्टमार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ। सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनी ट्रान्सफर, देशभरका २ करोडभन्दा बढी जनसंख्या र १२ लाखभन्दा बढी साना तथा मझौला उद्योगलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुका माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो।

इन्जाज पेमेन्ट साउदी अरेबियास्थित वित्तीय संस्थामा एक अग्रणी कम्पनी हो। इन्जाज पेमेन्ट विश्वसनीयता र विप्रेषण करोबारको सुरक्षाका लागि प्रसिद्ध छ र विश्वभर २०० देशका लाखौँ मानिसलाई छिटो र सहज रूपमा पैसा पठाउन र प्राप्त गर्न मद्दत गरिरहेको छ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलवार १०:३०