बिजुलीको भ्याट फिर्ता लिन सरकारलाई उद्योग वाणिज्य महासंघको आग्रह
१२ असाेज, काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघले विद्युत महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता लिन सरकारसँग माग गरेको छ। चालु आर्थिक वर्ष २०८३/८४ देखि विद्युत महसुलमा भ्याट लागू भएपछि उद्योग, होटल तथा पर्यटनसहित निजी क्षेत्रको उत्पादन तथा सञ्चालन लागत बढेको महासंघले जनाएको हो।
महासंघका अनुसार विद्युत औद्योगिक उत्पादन, व्यापार र पर्यटन क्षेत्रको आधारभूत पूर्वाधार भएकाले यसमा थप कर लगाउँदा उत्पादन लागतसँगै सञ्चालन खर्च र नगद प्रवाहमा समेत दबाब परेको छ। यसको प्रत्यक्ष असर व्यवसायको प्रतिस्पर्धात्मक क्षमतामा परेको महासंघको भनाइ छ।
विशेषगरी उच्च ऊर्जा खपत गर्ने उद्योग, भ्याट छुटअन्तर्गत कारोबार गर्ने व्यवसाय, साना तथा मझौला उद्योग र होटल तथा पर्यटन व्यवसायले विद्युतमा थपिएको भ्याटका कारण लागत बढेको गुनासो गरेको महासंघले जनाएको छ।
कानुनले इनपुट ट्याक्स क्रेडिटको व्यवस्था गरे पनि विद्युतमा तिरेको भ्याट सबै व्यवसायले तत्काल वा पूर्ण रूपमा समायोजन गर्न सक्ने अवस्था नरहेको महासंघको दाबी छ। कर समायोजन तथा फिर्ताको प्रक्रिया र व्यवसायको कारोबारको प्रकृतिका कारण यस्तो समस्या देखिएको महासंघले जनाएको छ।
विद्युतमा थपिएको करले व्यवसायको सञ्चालन पुँजीमा समेत दबाब सिर्जना गरेको भन्दै महासंघले यसबाट नयाँ लगानी, उद्योग विस्तार र रोजगारी सिर्जनामा प्रतिकूल प्रभाव पर्न सक्ने बताएको छ। व्यवसायको लागत बढ्दा त्यसको भार अन्ततः उपभोक्तामा समेत पुग्न सक्ने र यसले समग्र मूल्यवृद्धिमा थप दबाब पार्न सक्ने महासंघको भनाइ छ।

विद्युतको आन्तरिक खपत बढाउँदै आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमार्फत औद्योगिकीकरणलाई गति दिनुपर्ने समयमा ऊर्जा लागत बढाउने नीतिले निजी क्षेत्रको लगानी र उत्पादन विस्तारमा चुनौती थपेको महासंघले जनाएको छ।
महासंघले विद्युतमा भ्याटसम्बन्धी व्यवस्था पुनरावलोकन गरी निजी क्षेत्रसँग व्यापक परामर्श गर्न सरकारसँग आग्रह गरेको छ। साथै कर समायोजन तथा फिर्ताको प्रक्रियालाई सरल, पारदर्शी र समयबद्ध बनाउन पनि महासंघले माग गरेको छ।
विद्युतलाई राजस्व संकलनको माध्यमभन्दा औद्योगिक उत्पादन, पर्यटन विकास, रोजगारी सिर्जना र आर्थिक वृद्धिको आधारभूत पूर्वाधारका रूपमा हेर्नुपर्ने महासंघको जोड छ। सोही आधारमा विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघले सरकारसँग आग्रह गरेको हो।
महासंघले उद्योगलाई नियमित, गुणस्तरीय र भरपर्दो विद्युत आपूर्ति सुनिश्चित गर्नसमेत सरकारको ध्यानाकर्षण गराएको छ। भोल्टेजको उतारचढाव, अचानक विद्युत अवरोध तथा अन्य प्राविधिक समस्याका कारण उत्पादन र मेसिनरीमा हुने क्षति न्यूनीकरण गर्न आवश्यक व्यवस्था गर्न पनि महासंघले माग गरेको छ।
प्रकाशित मिति : September 28, 2026 at 1:09 pm




