आमा भेट्न घर हिँडेका विष्णु रिमालले जब बाटैमा मृत्युको खबर सुने…
(नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले आफ्नो आमाको सम्झनामा सामाजिक सञ्जाल फेसबुकमा राख्नु भएको टिप्पणी यहाँ साभार गरिएको हो -प्रधानसम्पादक)
सँधै तर्साउने नागपञ्चमी !
२०५० साउन ८ गते । आमासँग भेट नभएको लामै समय भएको थियो । चार दिन अघि मात्र जननेता मदन भण्डारीको हत्याको बिरोधमा लगातार ३ दिने आम हडताल फिर्ता लिइएपछि त्यसदिन म आमालाई भेट्न घर जाँदै थिएँ । त्यसबेला अहिले जस्तो मोबाइल थिएन । ‘ल्याण्ड लाइन’ फोन पनि सीमित घरमा मात्र थिए । त्यसै दिन बिहान आमालाई फोन गरें र भनें– म आज आउँदैछु है? त्रिशुली– चामल, दाल र आँपको लागि प्रख्यात ठाँउ हो, पहिले फालाफाल पाइने यी चिज अहिले पाइन्न । छोरो सानै थियो । फोनमा आमाले नातीका लागि त्यस्तै सामान तयार गरेकी छु भन्दै हुनुहुन्थ्यो ।
त्रिशुली जाने सडक ज्यादै खराब थियो । अहिले २/३ घण्टा लाग्ने त्रिशुली बजार पुग्न कम्तिमा ४ देखि साढे चार घण्टा लाग्थ्यो । त्यसदिन दिउसो २ बजेतिर म त्रिशुली बजार पुगें । त्रिशुली जाँदा मेरो पहिलो रोकिने स्टेशन दिदीको होटल हुन्थ्यो, त्रिशुली जलविद्युतको पावर हाउसको सामुन्नेको ! अहिले त्यो घर छैन, भुकम्पले सम्म बनाइ दियो ।
बसबाट ओर्लनासाथ मैले भाइ रमेशलाई रुँदै आएको देखें । सोधेँ, के भयो, कहाँ जान लागेको, किन रोएको? उसको जवाफबाट म अबाक भएँ । बिहान मात्रै फोनमा कुरा गरेको मेरी आमा बित्नु भएछ, आमाको आकस्मिक निधन भएकोले उ त कात्रो किन्न पो अएको रहेछ … !!!
घर पुग्दा आमाको मृत शरीर तुलसीको मठ अघि सुताइएको थियो । रुवाबासी चलिरहेको थियो । मेरी आमा सामाजिक काममा भिज्नु भएकोले गाँउभरी नै लोकप्रीय हुनुहुन्थ्यो । अन्तिम श्रद्धाञ्जली दिन आउने गाउँभरीका शुभेच्छुकहरुको भीड थियो । मैले आफन्तहरुलाई हेरें, लडिबुडी गर्दै रोइरहेकी सानी बहिनीलाई हेरेँ र जबरजस्ती आफ्नो मनलाई सम्हाली सबैलाई नरुन भनें । लासको छेउमै झोक्राइरहनु भएको पिताजीलाई हेरेँ, उहाँको पीडा ‘फिल’ गर्ने प्रयास गरें । मृत आमाको अनुहार सुमसुम्याएँ ….
त्यस दिन तिथिले नागपञ्चमीको दिन थियो । आज त्यस घटना घटेको ३६१ महिना बित्यो । त्यस घटना संझना साथ मनलाई झस्काउँछ, घटनाभन्दा बढी त आमाको याद आउँछ ।
भावपूर्ण श्रद्धाञ्जली आमा । हाम्री आमा, सँधै हाम्रो संझनामा !
प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार ०९:११