२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

पिएसबीको अध्यक्षमा खुला प्रतिस्पर्धाको नाटकः ‘रविको छवि जोगाउन बलिको बोको’

२८ जेठ, काठमाडाैँ । सार्वजनिक सेवा प्रशारण नेपाल (पिएसबी)को अध्यक्षमा छोटो सूचीमा फ्याँकिएपछि पत्रकार पुनम पाैडेलले असन्तुष्टि जनाएकी छिन । फेसबुक मार्फत पौडेलले असन्तुष्टि व्यक्त गरेकी हुन ।

पौडेलले कसैको छवि जोगाउने नामममा व्यवसायिक मानिसलाई बलिको बोको बनाउन बन्द गर्न अनुरोध समेत गरेकी छिन । बिहीबार राति छोटो सूची सार्वजनिक भएसँगै पौडेलले आफ्नो प्रतिक्रिया राख्दै पिएसबीको अध्यक्षमा खुला प्रतिस्पर्धाको नाटक गरिएको दाबी प्रस्तुत गरेकी छिन ।

उनले घण्टी पार्टीको सुशासन र निष्पक्षता देखिएको भन्दै तीन प्रश्न समेत गरेकी छिन । पुनमले कुनै पार्टीमा संलग्न नभएको भनेर आवेदन फाराममा सहि छापको नाटक किन गर्न लगाएको ? आखिर पार्टीका चाकर र दासहरुलाइ नै ल्याउनु थियो भने ? अझ घन्टी पार्टीकै खुलेआम सदस्यलाई नै ल्याउनु छ भने आवेदनको नाटक गर्न लगाएर मानिसको समय किन बर्बाद गरेको ? भन्दै प्रश्न गरेकी छिन ।

उनले दैनिकीले प्रकाशित गरेको ‘पिएसबीको अध्यक्षमा रविको भाउजुदेखि एमालेका नाममा अघाएकासम्मको दरखास्त’ भन्ने शीर्षकको समाचारमा समेत असन्तुष्टि जनाएकी छिन । दैनिकीको समाचारपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भाउजु भनेर नचिनेका मान्छेले समेत चिनेको उनको दाबी छ ।

२८ जनाको दरखास्त स्वीकृत भएकोमा २ जना महिलाको रहेको थियो । दुबै महिला छोटो सूचीमै छुटाइएका छन । दरखास्त दिने अर्को पत्रकार कुमारी निमा काफ्ले रहेकी थिइन । सरकारले पिएसबीको अध्यक्षमा गोविन्द भण्डारी अखण्ड र लक्षम्मण हुमागाइँ मध्ये एक जना छान्ने तयारी गरेको बजार हल्ला छ त्यसका लागि बिहीबार १० जनाको छोटो सूची सार्वजनिक गरेको छ । छोटो सूचीमा परेकाहरू प्रायले शक्तिकेन्द्र धाएर आफू रास्वपाको सबैभन्दा अशल कार्यकर्ता रहेको दाबी प्रस्तुत गर्न थालेका छन ।

भण्डारी र हुमागाइ दुबै अध्यक्षादेशबाट जागिर गुमाएका पात्र हुन । सरकारले ल्याएको अध्यादेश मार्फत गोरखापत्र संस्थानको अध्यक्षबाट भण्डारी र विज्ञापन बोर्डको अध्यक्षबाट हुमागाइ पदमुक्त भएका थिए । दुबै जना नियुक्तिका लागि रास्वपा निकट भैसकेका पात्र हुन । यद्यपी प्राविधिक रूपमा प्रस्तुतीकरणको विषय पनि राखिएकोले अब अन्तिम तीन जनामा को को पर्छन भन्ने प्रतिक्षाको विषय बनेको छ ।

यस्तो छ पुनमको टिप्पणी

कुनै पार्टीमा संलग्न नभएको भनेर आवेदन फाराममा सहि छापको नाटक किन गर्न लगाएको ? आखिर पार्टीका चाकर र दासहरुलाइ नै ल्याउनु थियो भने ? अझ घन्टी पार्टीकै खुलेआम सदस्यलाई नै ल्याउनु छ भने आवेदनको नाटक गर्न लगाएर मानिसको समय किन बर्बाद गरेको ? देखियो सुशासन, देखियो निष्पक्षता।

सरकार लैङ्गिक मैत्रि छैन भन्ने त थाहा थियो यति निरलज्ज होला जस्तो चाहिँ लागेको थिएन। कम से कम अध्यादेश ल्याई ल्याइ फालिएकालाई नै फेरि ल्याउनु थियो भने तिनिहरुलाइ किन फालेको ?

अँ अनि नाता जोडेर कसैलाई कुनै सरकारी पदको लागि अयोग्य मानिन्छ भने म खुला चुनौती दिन्छु कि त अध्यादेश मार्फत कानून संशोधन गरेर यहाँ कोही कसैको नाता पर्न नपाइने भन्ने कानून ल्याओस होइन भने पार्टी सभापतिले आफ्नालाई गरेन भनेर उनको छवि जोगाउन एउटा व्यवसायिक मान्छेलाइ बलीको बोको बनाउने खेल बन्द गरियोस।
#पिएसबी अध्यक्ष पदको खुला आवेदनको नाटक।#

प्रकाशित मिति : June 11, 2026 at 10:28 pm