सिंहदरबारभित्रै गुणस्तरहीन वस्तु बिक्री, सेन्ट्रल क्यान्टिनलाई २ लाख जरिवाना
२९ जेठ, काठमाडौं । सिंहदरबारभित्र सञ्चालित क्यान्टिनमा चरम लापरबाही र अखाद्य वस्तु प्रयोग भइरहेको फेला परेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार गरेको आकस्मिक अनुगमनका क्रममा सिंहदरबारस्थित सेन्ट्रल क्यान्टिन सञ्चालन गरिरहेको ‘जी एन्ड बी क्याफे ग्रुप’ मा कैफियत भेटिएकाले कारबाही गरेको छ ।
अनुगमन क्रममा उक्त क्याफेले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पुग्ने गरी गुणस्तरहीन कच्चापदार्थ प्रयोग र भण्डारण गरेको पाइएको छ । अनुगमनका क्रममा क्यान्टिनमा रहेका गुणस्तरहीन चनाको दाल, नेपाली बदाम र अण्डा गरी ६ हजार ५ सय ६० रुपैयाँ बराबरको सामग्री समेत नष्ट गरिएको छ ।

अखाद्य र म्याद नाघेका वस्तु प्रयोग मार्फत उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ (२) (क) विपरीत कार्य गरेको ठहर गर्दै विभागले सोही ऐनको दफा ३९ (१) (ख) बमोजिम क्याफेलाई २ लाख १ हजार रुपैयाँ जरिबाना गरेको छ ।
त्यसैगरी, भक्तपुरको चाँगुनारायणस्थित ‘जय छुमा गणेश शुद्ध खानेपानी प्रालि’ लाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ । उक्त पानी उद्योगले उत्पादनको लेबल (विवरण) नराखी बिक्री वितरण गरेको पाइएकाले कारबाही गरिएको हो ।

प्रकाशित मिति : June 12, 2026 at 6:03 pm









