अर्थतन्त्र चलायमान बनाउन अर्थमन्त्री महतको दाैडधुप
२९ साउन, काठमाडाैँ । अर्थमन्त्री डा. प्रकाशशरण महत अर्थतन्त्रलाई चलायमान बनाउन पछिल्लो समय दाैडधुपमै लागेका छन । मन्त्री महतको पछिल्लो दाैडधुपको एकमात्र उद्देश्य देशको अर्थतन्त्रलाई चलायमान बनाउनु हरेको उनको सचिवालयले जनाएको छ । निजी क्षेत्रसहित सबैसँग हातमालो गरेर देशको अर्थतन्त्रमा थप सुधार ल्याउन मन्त्री महत लागि परेको सचिवालयले जनाएको छ ।
पछिल्लो समय अर्थमन्त्री डा. महतले अर्थतन्त्र सुधारका लागि गर्नुपर्ने कामबारे निजी क्षेत्र, दातृ निकाय तथा बैदेशिक लगानीकर्ता, नियामक निकाय तथा कर्मचारी संयन्त्रसँग निरन्तर छलफल गरिरहेका छन । राजश्व संकलनमा देखिएको समस्या समाधान गर्न र अर्थतन्त्रलाई चलायमान बनाउन कहाँ समस्या छन् त्यसलाई पहिल्याउन मन्त्री डा. महत निरन्तर लागिरहेका छन ।
आइतबार मात्रै निजी क्षेत्रका तीनवटा संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल राष्ट्र बैंकका गर्भनर र नेपाल बैंकर्स संघसँग महतले छलफल गरे । मन्त्री महतले आइतबार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) हरुलाई अर्थमन्त्रालयमा छलफलका बोलाएर समग्र बैंकिङ प्रणालीमा देखिएको समस्या र अहिले तरलता सहज हुँदा पनि कर्जाको माग बढ्न नसक्नुको कारणबारे जानकारी लिए। अर्थतन्त्र चलायमान बनाउन बैंकिङ क्षेत्रले कसरी सहयोग गर्न सक्छ र त्यसका लागि नेपाल राष्ट्र बैंक र सरकारले के सहयोग गर्नुपर्ने हो भनी सीइओहरुलाई उनले जिज्ञासा राखेका थिए ।
त्यस्तै आइतबार बिहानै मन्त्री महतले भन्सार विभागद्वारा आयोजित भन्सार व्यवस्थापन कार्यशालामा कर्मचारीलाई निर्देशन दिँदै कर्मचारीले सोचमा परिवर्तन गर्न ढिलो गर्न नहुने बताएका थिए । जिम्मेवारीमा सम्झौता नगरी काममा व्यवसायिकता, सम्मान र समर्पण हुनुपर्नेमा उनको जोड थियो ।
शनिबार पनि महतले बजेटमा युवाहरुलाई मध्यनजर गरेर युवा उद्यमशीलता (स्टार्टअप), आइटी र रिसर्चमा ठूलो रकम विनियोजन गरिएकोले यसका लागि आवश्यक सूचना सम्बन्धित निकायबाट लिएर युवाहरुले देशमै स्वरोजगार बन्न आग्रह गरेका थिए ।
शुक्रबार महतले अमेरिकी सहयोग नियोग (युएसआईडी) बाट सञ्चालित आयोजनाको प्रगति समीक्षाको छलफलमा भाग लिएका थिए । अनुदान रकम बढाउन, जलवायु परिवर्तनलाई सम्बोधन गर्ने गरी सहयोग दिन, नेपाली जनताको जीविकोपार्जनका लागि ग्रामीण पूर्वाधारका आयोजनामा लगानी गरेर ठोस नतिजा हासिल हुने क्षेत्रमा लगानी गर्न दातृ निकायहरुसँग मन्त्री महतले छलफल गरिरहेका छन । यद्यपी अर्थमन्त्रीको एक्लो प्रयास र दाैडधुपले मात्र अर्थतन्त्र चलायमान बनाएर अघि बढाउने काममा सफलता मिल्ला त भन्ने प्रश्न पनि सँगै उठेको छ ।
प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार ११:२९