१४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026

दुई खर्ब १४ अर्बको लगानी प्रस्तावसहित एकै वर्षमा दर्ता भए तीन सय २२ उद्योग

१३ साउन, काठमाडाैँ । गत आर्थिक वर्ष २०७९/८० मा उद्योग विभागमा तीन सय २२ उद्योग दर्ता भएका छन् । विभागले सार्वजनिक गरेको गत आवको प्रगति विवरणअनुसार स्वदेशी र विदेशीसमेत गरी तीन सय २२  उद्योग दर्ता भएका हुन् ।
गत आवमा विभागमा दर्ता भएका उद्योगले प्रस्ताव गरेको कूल लगानी रू दुई खर्ब १४ अर्ब बराबर रहेको छ । ती उद्योगहरुबाट प्रस्तावित रोजगारीको सङ्ख्या २३ हजार तीन सय २४ रहेको विभागले जनाएको छ । दर्ता भएकामध्ये ठूला उद्योग ६६, मझौला ७० र साना एक सय ८६ रहेका छन् ।

औद्योगिक व्यवसाय ऐन, २०७६ ले रू ५० करोडभन्दा बढी स्थिर पूँजी भएका उद्योगलाई ठूला, रू १५ करोड देखि रू ५० करोडसम्म मझौला र लघु तथा घरेलु उद्योगबाहेक रू १५ करोडसम्मको स्थिर पूँजी भएकालाई साना उद्योगका रुपमा वर्गीकरण गरेको छ ।

उद्योग विभागमा गत वर्ष पाँच प्याटेन्ट र १८ डिजाइन दर्ता भएका छन् । त्यस्तै गत आवमा दर्ता भएका ट्रेडमार्कको सङ्ख्या तीन हजार दुई सय ५४ रहेको छ । पछिल्लो एक वर्षको अवधिमा ट्रेडमार्कसम्बन्धी मुद्दामा एक सय ५० कम्पनीलाई कारबाही गरिएको विभागले जनाएको छ । विभागबाट प्रारम्भिक वातावरणीय परीक्षण (आइई) स्वीकृति लिनेको सङ्ख्या ८२ छ ।

सोही अवधिमा चार सय चार उद्योगले निर्यातमा नगद अनुदान लिनका लागि विभागबाट मूल्य अभिवृद्धि (भ्यालु एडिसन) प्रमाणित गराएका छन् भने भारत निर्यातका लागि उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन) सिफारिस भएका ९८ छन् । गत आवमा उद्योग विभागबाट स्वीकृत भएका विदेशी लगानीको सङ्ख्या तीन सय २७ छन् । उक्त उद्योगबाट कूल रू ३३ अर्ब १४ करोड बराबरको विदेशी लगानी प्रस्ताव आएको विभागले जनाएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार १७:१३