१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

उपप्रधानमन्त्री पोखरेलको चीन भ्रमणः नेपाली सेनालार्इ चीनले दियो दुई अर्ब ५३ करोड

१० कात्तिक, काठमाडाैँ । चीनले नेपाललाई दिने १५० मिलियन चिनियाँ युआन (करिब दुई अर्ब ५३ करोड रुपैयाँ) सहायता सम्बन्धी सम्झौतामा शनिबार बेइजिङमा हस्ताक्षर भएको छ। चीनको भ्रमणमा रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र चिनियाँ राज्यपरिषद सदस्य एवं रक्षामन्त्री वै फङहबीच शनिबार भएको भेटवार्तापश्चात् विपद् व्यवस्थापन परिचालनका लागि यो सहयोग सम्झौतामा हस्ताक्षर भएको हो।

यो सहयोग आगामी ५ वर्षका लागि मानवीय तथा विपद व्यवस्थापन उपकरणमा खर्च गरिनेछ । भेटवार्ताका क्रममा रक्षामन्त्री पोखरेलले नेपाल–चीन सम्बन्धबारे चर्चा गर्दै नेपालका प्रधानमन्त्री केपी शर्माओलीको चीन भ्रमणबाट दुई देशबीचको सम्बन्ध अझै उचाइमा पुगेको र राजनीतिक विश्वास बढाएको बताए। मन्त्री पोखरेलले सैन्य तालिम तथा सैन्य सहायता, मानवीय तथा विपद व्यवस्थापन सम्बन्धी सामग्री, औषधी उपकरण, शान्ति स्थापना तथा नेपालमा रक्षा विश्वविद्यालय स्थापनाका लागि चिनियाँ सहयोगको अपेक्षा गरे।

उनले भने, ‘सहयोग सम्झौतामा हस्ताक्षर चीनले गर्दै आएको सहयोगको निरन्तरता नै हो। नेपाली सेनाको क्षमता वृद्धि र आत्मनिर्भरताका क्षेत्रमा सहयोग केन्द्रित हुनेछ।’ प्रत्युत्तरमा चीनका रक्षामन्त्री वै फङहले एक चीन नीतिमा समर्थन तथा तिब्बत मामिलामा नेपालले अंगीकार गरेको नीतिको प्रशंसा गरे। उनले दुवै देशबीच सैन्य सहकार्य सबल पार्ने तथा नेपाललाई आवश्यक पर्ने सहयोगका लागि चीन तत्पर रहेको बताए। सहकार्य सम्बन्धी विस्तृत धारणा भविष्यमा आपसी समझदारीबाट तय गरिने पनि उनले बताए।

प्रकाशित मिति : October 27, 2018 at 11:50 pm