नेप्सेले गर्याे एक इन्स्योरेन्सकाे सेयर कारोबार रोक्का, ३ दिनभित्रमा स्पष्टीकरण पेश गर्न निर्देशन
५ साउन, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले प्रभु इन्स्योरेन्सको सेयर कारोबार रोक्का गरेको छ । कम्पनीले धितोपत्रको मूल्यमा प्रभाव पार्ने गरी सूचना जारी गरेको भन्दै कम्पनीको सेयर कारोबार रोक्का गरेको हो ।
नेप्सेले हकप्रद सेयर निष्कासनसम्बन्धी निर्णय ढिलो गरी जानकारी गराएको भन्दै सो इन्स्योरेन्सको सेयर कारोबार रोक्का गरेको हो। गत असार २७ गते बसेको कम्पनीकाे सञ्चालक समितिले हकप्रद सेयर जारी गर्नेसम्बन्धी निर्णय गरेको थियो। तर, कम्पनीले साउन ४ गतेमात्रै त्यसबारे नेप्सेमा सूचना पठाएको थियो।
त्यसैले नेप्सेले कारोबार रोक्का राख्दै स्पष्टीकरण मागेको हो । नेप्सेले ३ दिनभित्रमा स्पष्टीकरण पेश गर्न कम्पनीलाई निर्देशन दिएको छ । धितोपत्रको मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि त्यस्तो सूचना, जानकारी तथा निर्णय सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने व्यवस्था छ । तर, प्रभु इन्स्योरेन्सले ढिला गरी नेप्सेमा निर्णयसम्बन्धी निर्णय पेस गरेको थियो। सो विषयलाई लिएर नेप्सेले सो कम्पनीलाई कारवाही गरेको हो ।
प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार १०:०१