५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

१०० किलो सुन तस्करी प्रकरणः प्रचण्ड र ओलीसँगको फोटो राखेर दीपक मलहोत्राको चर्चा

४ साउन, काठमाडौँ । अध्यागमन र भन्सारका कर्मचारीको सेटिङमा त्रिभुवन विमानस्थलबाट बाहिरिएको करिब १०० किलो सुन समातिएपछि अहिले व्यवसायी दीपक मलहोत्रा चर्चामा छन । केही सञ्चार माध्यमले तस्करीको १०० किलो सुन व्यवसायी दीपक मलहोत्रा भएको भन्दै समाचार प्रकाशित भएपछि दैनिकीले चासो राख्दा उनले त्यसमा आफ्नो कुनै संलग्नता नरहेको बताए ।

तपाईले १०० किलो सुन एकै पटक विमानस्थलको कार्गो समेतबाट पास गराउनु भएछ नि भन्ने दैनिकीको प्रश्नमा मलहोत्राले भने, ‘म बिहान ६ः३० बजेदेखि यही  विषयको जवाफ दिएर बसिरहेको छु । सबै साथीभाइले के हो भनेर सोधिरहनु भएको छ रु अब सर्वप्रथम त यो सुन तस्करीमा मेरो कुनै पनि संलग्नता छैन । मलाई थाहा पनि छैन् । जुन समाचार आएको छ त्यो सय प्रतिशत झुटो समाचार हो । र यसमा कसैले मेरो संलग्नता पुष्टि गरेको खण्डमा म जे सजाएँ भोग्न तयार छु । मेरो एकै पटक चरित्र हत्या गरिएको छ । म यस विषयमा आज पत्रकार सम्मेलन नै गरेर आफ्नो कुरा पनि राख्छु ।’

प्रचण्ड र ओलीसँगको तस्बिर राखेर एमाले र माओवादी कार्यकर्ताको जुहारी 

नेकपा मओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकम दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छुट्टा छुट्टै तस्बिर राखेर दुबै पार्टीका नेता कार्यकर्ताले मलहोत्राको कत्लेआम गरिरहेका छन । मलहोत्राको संलग्नता छ कि छैन भन्ने कुरा राजस्व अनुसन्धान विभागको अनुसन्धानले केही दिनमै पत्ता लगाउने नै छ । तर अहिले पनि सामाजिक सञ्जालको फेसबुक र ट्वीटरमा माओवादी कार्यकर्ताले एमाले निकट व्यवसायी भन्दै ओलीसँगको तस्बिर राखेर र एमाले कार्यकर्ताले प्रचण्ड निकट व्यवसायी भन्दै प्रचण्डसँगैको तस्बिर राखेर उनको कत्लेआम गरिरहेका छन ।

एमाले निकटका कार्यकर्ता गणेश पाण्डे र माओवादी निकटका कार्यकर्ता उदय जिएमले सामाजिक सञ्जालमा पोस्ट गरेका तस्बिरहरू । यसरी सयौँ कार्यकर्ताले आफ्नो अनुकुलको व्याख्या गरिरहेका छन ।

विमास्थलको अध्यागमन र भन्सार कार्यालयको सेटिङमा बाहिरियो सुन 

हङकङबाट क्याथे प्यासिफिकको उडान हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पनि पार गरेर सिनामंगल पुग्न लागेको सुन राजस्व अनुसन्धान विभागको टोलीले समातेको हो । मोटरसाइकल र स्कुटरको ब्रेक सु भित्र राखेर करिब १ क्विन्टल सुन ल्याइको पाइएको छ । परिमाण धेरै रहेको र ब्रेक सुमा मिसाएर ल्याएका कारण आधिकारिक तौल निश्चित गर्न अझै समय लाग्ने राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले जानकारी दिए । सुन बा २ च २३२४ नम्बरको ट्याक्सीमा राखेर विमानस्थलबाट बाहिर लैजाँदै गर्दा बरामद भएको हो।

प्रारम्भिक अनुसन्धानका क्रममा १ सय ६० वटा सुनको टुक्रामा भेटिएको छ । बरामद भएको सुनको तौल दिनका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवनमा पठाइएको छ। सुनको शुद्धता पहिचान गर्नका लागि नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा लगिनेछ।

पक्राउ परे चार जना 

दोलखाको मेलुङ गाउँपालिका–३ घर भई हाल काठमाडौँको साँखु बस्ने २१ वर्षीय दिलीप भुजेल, सोही ठेगानाका वर्ष ५३ का रामकुमार भुजेल, पुरानो दिल्ली घर भई हाल काठमाडौँको पानीपोखरी बस्ने ५३ वर्षका भारतीय नागरिक थाप्तेन छिरिङ र भोजपुर अरुण गाउँपालिका ४ घर भई हाल बुढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई पक्राउ परेका छन । थाप्तेन छिरिङल भारतीय नागरिक हुन् । उनी एजेन्ट रहेको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार १०:४९