७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

गठन आदेश विपरित रेडियो नेपालको सञ्चालकमा तिलकजंग बुढाथोकी नियुक्त

२२ असार, काठमाडौँ । सरकारले रेडियो प्रसार सेवा विकास समिति गठन आदेश २०४१ विपरित आठौँ तहका व्यापार अधिकृतलाई सञ्चालक समितिमा नियुक्त गरेको छ ।  सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मन्त्रीस्तरीय निर्णय गर्दै गठन आदेश विपरित बुढाथोकीलाई सञ्चालक सदस्यमा नियुक्त गरेकी हुन ।

मन्त्रालले २०७९ चैत १९ गते बुढाथोकीलाई सञ्चालकमा नियुक्त गरेको हो । गठन आदेशको दफा २  क मा रेडियो सञ्चालक समिति सम्बन्धी व्यवस्था रहेको छ । जसमा समिति तीन सदस्य हुने कुरा उल्लेख गरिएको छ । एक अध्यक्ष र दुई जना सदस्य रहने व्यवस्था रहेको छ ।

भाषा, साहित्य वा प्रशारणको क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्ति मध्येबाट एक जना सदस्य नियुक्ति गर्नुपर्नेमा मन्त्रीले माओवादी कोटामा व्यापार शाखामा अधिकृतलाई सञ्चालक नियुक्त गरेको हो । यसअघि संगीत क्षेत्रबाट गायक सीताराम पोखरेल सञ्चालक समितिको सदस्यमा नियुक्त भैसकेका हुन ।

नवौँ तह वा सोभन्दा माथिको अधिकृत नियुक्त गर्ने प्रचलन रहेको थियो । बुढाथोकी भन्दा अघि रेडियो कै नवौँ तहका टीका भण्डारी सञ्चालक समितिको सदस्य रहेका थिए । अहिले सञ्चालक नियुक्त भएका बुढाथोकी भने भाषा, साहित्य वा प्रशारणको क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्ति होइनन् । अर्थात उनको नियुक्तिका लागि योग्यता पुग्दैन ।

यसअघि राजाको प्रत्यक्ष शासनकालमा व्यपारकै अधिकृत भैरबहादुर अधिकारीको नियुक्त भएको थियो । तर गठन आदेश विपरितको सदस्य नियुक्त भएको भन्दै उजुरी परेपछि अधिकारीको नियुक्ति बदर भएको थियो ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार १८:२३