नेपालले मलेसियालाई दियाे २५३ रनको विशाल लक्ष्य
१९ असार, काठमाडाैं । एसिसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा नेपालले घरेलु टोली मलेसियालाई उपाधि जित्नका लागि २५३ रनको विशाल लक्ष्य दिएको छ ।
मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा आठ विकेट गुमाएर २५२ रनको योगफल बनायो । नेपालका लागि नरेन भट्टले ८९ बलमा १० चौका र २ छक्काको सहयोगमा अविजित १ सय १२ रनको शतकीय पारी खेले ।
त्यस्तै नीरज यादवले ४७ रनको योगदान दिए भने सुर्यांशु कोइरालाले १८ रन बनाए । सन्तोष यादवले २६ रन बनाउँदा अशोक धामीले ११ रन जोडे । मलेसियाका लागि मुहम्मद अक्रमले ३ विकेट लिए भने अरेन अकिल र मुहम्मद फदुलले समान १/१ विकेट लिए ।
यसअघि हिजो भएको सेमिफाइनलमा नेपालले सिङ्गापुरलाई पराजित गर्दै फाइनल पुगेको थियो । मलेसियाले भने हङकङलाई हराउँदै फाइनलमा स्थान बनाएको हो । समूह चरणको खेलमा नेपालले मलेसियालाई पराजित गरेको थियो ।
प्रकाशित मिति : १९ असार २०८०, मंगलवार ११:३८