१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

१३.९५ प्रतिशतले घट्याे बीमा कम्पनीकाे कार्यालय, मर्जरकाे असर कर्मचारीमा

१८ असार, काठमाडौं । नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार  पछिल्लो समय जीवन तथा निर्जीवन बीमा कम्पनीहरु धमाधम मर्जरमा जान थालेका छन् । मर्जर पश्चात जीवन बीमा १५ वटा, निर्जीवन बीमा १४ वटा र पुनर्बीमा कम्पनी २ गरी ३१ वटामा सीमित भएका हुन् । गत आर्थिक बर्षसम्म नेपालमा २० निर्जीवन, १९ जीवन र २ पुनर्बीमा कम्पनी रहेका थिए ।

नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार पछिल्लो एक वर्षमै बीमा कम्पनीहरुको कार्यालयको संख्या १३.९५ प्रतिशतले घटेको छ । गत आर्थिक बर्षकाे जेठ मसान्तसम्मा बीमा कम्पनीहरुको कार्यालयको संख्या ३ हजार ३३५ वटा रहेको थियो । तर, एक वर्षको अवधिमा भने ४६८ वटा कार्यालयको अस्तिव सकिएको छ ।

चालु आर्थिक बर्षकाे जेठ मसान्तसम्ममा बीमा कम्पनीहरुको कार्यालयको संख्या २ हजार ८८७ वटामा सीमित भएकाे छ । बीमा कम्पनीहरुको कार्यालयको संख्यासंगै यस क्षेत्रका कर्मचारीहरुको संख्या पनि घट्दै गएको छ । चालु आर्थिक बर्षकाे जेठ मसान्तसम्ममा बीमा  कम्पनीका कर्मचारीहरुकाे संख्या पनि ५.५० प्रतिशतले घटेर ११ हजार १९९ जनामा पुगेकाे छ । गत आर्थिक वर्षको जेठ मसान्तसम्ममा बीमा कम्पनीका कर्मचारीहरुकाे संख्या ११ हजार ८५१ जना रहेकाे थिए ।

कम्पनीहरुको मर्जरका कारण बीमा क्षेत्रमा रोजगारीको संख्या घटेकाे छ । पछिल्लो समय प्राधिकरणले पुँजी बढाउने नीति लिएका  कारण थुप्रै बीमा कम्पनीहरु मर्जरमा गएका छन् । कम्पनीहरू मर्जरमा जाँदा त्यसकाे असर भने कर्मचारीमा परेकाे देखिन्छ । अधिकांश कम्पनीहरुले विभिन्न सुविधा सहित स्वैच्छिक अवकाश नीति ल्याएर कर्मचारीलाइ बिदाई गरेका छन् । त्यसले गर्दा बीमा क्षेत्रमा कार्यरत कर्मचारीको संख्या घट्न पुगेकाे हाे ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार १५:०६