सर्वसाधारणको अर्बौ रकम हिनामिना गर्ने देउराली सहकारीका अध्यक्ष चौलागाईलाई खोज्दै सीआईबी
१७ असार, काठमाडाैं । सहकारी क्षेत्रमा समस्यै समस्या देखिएको छ। अहिले नाम चलेका केही ठूला सहकारीका अध्यक्ष बचतकर्ताकाे पैसा बाेकेर एकपछि अर्को भाग्ने क्रम जारी रहेकाे छ । यसै क्रममा देउराली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौलागाई पनि सर्वसाधारणको अर्बौ रकम हिनामिना गरेर भागेका छन् । ललितपुरको सातदोबाटोमा प्रधान कार्यालय रहेको यस सहकारीका अध्यक्ष चौलागाई लगायत सञ्चालकहरूले सर्वसाधारणको अर्बौ रकम हिनामिना गरेकाे भन्दै उनीहरूलाई पक्राउ गरी कारबाही गर्न नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोलाई परिपत्र गरिएकाे छ ।
लामो समयदेखि कार्यालय बन्द गरेर सेयर सदस्यहरुलाई दुख दिन थालेपछि सहकारी विभागले अध्यक्ष चौलागाई सहित सञ्चालकलाई कारबाही गर्न सिआईवीलाई अनुराेध गरेकाे हाे । बचतकर्ताले आफुले जम्मा गरेकाे रकम फिर्ता माग्न थालेपछि अध्यक्ष चौलागाईले उनीहरू विरूद्ध मिटरब्याजीकाे आरोप लगाएरकाे बचतकर्ताकाे गुनासाे छ । संस्थाका पीडितहरुले मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा प्रमाणसहित उजुरी दर्ता गरेका छन् ।
यसअघि सहकारीले बचतकर्ताकाे ८० प्रतिशत बचत फिर्ता गरिसकेको र बचत फिर्ता लिन आउन सूचना जारी गरेकाे थियाे । तर बचतकर्ता भने सहकारीले कुनै पनि रकम फिर्ता नगरेकाे र सूचना जारी गरी झुटो प्रचार गरेकाे आराेप लगाएका छन् । बचतकर्ताले सहकारीबाट कुनै पनि बचत फिर्ता नपाएकाे प्रमाणसहित सीआईबीमा उजुरी दिएका हुन् ।
यसअघिका उजुरीलाई छोप्न सहकारीले बचत फिर्ता गर्न जग्गा दिने प्रलोभन देखाएको थियो । सहकारीले विभिन्न समयमा अत्याधिक ब्याज दिने प्रलोभन दिएर बचत संकलन गरेको थियो ।
गत असार १ गतेबाट कार्यालय नै बन्द गरेर हिडेपछि देउराली सहकारीका पीडितहरु माईतिघरमा निरन्तर आन्दोलन गरिरहेका छन । संस्थाका पीडित सदस्यहरुले विभागमा पुगेर नाराबाजी गरेपछि विभागले अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान व्यूरोलाई सिफारिस गरेको हो ।
पीडितहरुले देउराली सहकारीका सञ्चालक तथा अध्यक्ष चौलागाईले सर्वसाधारणबाट करिब ३ अर्ब अपचलन गरेको आरोप लगाएका छन । सहकारीमा समस्या आएपछि गठन भएको देउराली सहकारी पीडित संघर्ष समिति गठन भएर आन्दोलन भईरहँदा समितिका सदस्यहरुलाई झुठ्ठा मुद्दा लगाएर फसाउन खोजेको पीडितहरुले बताएका छन ।
प्रकाशित मिति : १७ असार २०८०, आईतवार १२:०९