बजेटको स्रोत कम भएकाले सबैलाई समेट्न सकिनः अर्थमन्त्री महत
१५ असार, काठमाडौं ।अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को बजेटको स्रोत कम भएकोले सबैलाई समेट् नसकेको बताएका छन् ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित राष्ट्रिय प्रशिक्षण कार्यक्रममा महतले बजेटमा धेरैको चाहना पुर्याउन नसकेको तर अर्थतन्त्रलाई चलायमान गर्ने गरि निष्पक्ष भएर बजेट ल्याएको बताएका छन् ।
उनले कसौँडीमा पकाएको चामल आकारको सानो बजेटको स्रोतले सबै जन्तीलाई भाग पुर्याउन नसकेको धारणा राखे । तर,उनले भएको स्रोतले जायज कुरालाई सम्बोधन गरेको दावी गरे ।
‘अहिले मैले सरकारको तर्फबाट बजेट प्रस्तुत गरेँ । अनेकौँ खाले अन्योलताको बीचमा दुई महिनामा मैले बजेट ल्याउनुपर्ने स्थिति थियो । तर मैले दृढ निश्चय गरेर जे जायज छ, जे उपयुक्त छ, जसले यो अर्थतन्त्रलाई चलायमान गर्न सक्छ,त्यसलाई मध्यनजर गरेर कसैको मुख नहेरीकन कसैलाई फाइदा पुर्याउने,कसैलाई बेफाइदा पुग्ने गरी होइन, आम नागरिकलाई भलो हुने गरि अर्थतन्त्र चलायमान हुने, राजश्वलाई वैज्ञानिक ढंगबाट करको दायरामा नआएकाहरूलाई दायरामा ल्याउने गरी बजेट ल्याएको छु ।’
उनले बजेटमा कुनै पक्ष र विपक्षलाई फाइदा हुने वा नहुने गरि भन्दा पारदर्शीतालाई ध्यानमा राखेर सम्बोधन गरेको उल्लेख गरे । ‘ मैले कसैलाई फाइदा पुर्याउने वा नपुर्याउने गरी होइन, आम नागरिकको विकास, सुशासन र पारदर्शीताको सुनिश्चितताको जुन आकंक्षा राखेका छन् त्यसलाई मध्यनजर राखेर कुनै पनि लोभ मोह नराखिकन बजेटलाई अगाडि बढाइयो ’मन्त्री महतले भने ।
त्यस्तै,उनले संयुक्त सरकारमा तान्ने र धकेल्ने प्रवृति रहेको भन्दै बजेटबारे सबैको चाहनालाई सानो स्रोतले पूर्ति गर्न नसक्दा असन्तुष्टि आएको स्पस्ट पारे । उनले भने, ‘यो संयुक्त सरकार हो, विभिन्न चाहना, मागहरु र तान्ने र धकेल्ने अवस्थामा एकातिर तान्यो अर्कोतिर खुस्किने, एउटा कसौँडीमा पाक्न सक्ने चामल छ, अब जन्ती बराबरलाई खुवाउनु परेको खण्डमा के हुन्छ ?आम्दानी र सरसामान छ कसौँडीमा पकाउने बराबरको,सबैको चाहनापूर्ति गर्न ठूलो खड्कुलोमा पकाउँदा पनि पुग्दैन त्यो अवस्थामा के हुन्छ ,सबैको भावनाको सम्बोधन गर्न सकिँदैन ।’
प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार १६:३७