१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

लघुवित्तकर्मी असुरक्षित भए, मिडियाले सहयोग गरिदिनुपर्योः बसन्त लम्साल

११ असार, काठमाडाैं । लघुवित्त बैंकर्स संघले आफूहरु असुरक्षित भएको भन्दै सुरक्षित रुपमा सेवा प्रवाह गर्ने वातावरण बनाइदिन राज्यसँग अनुराेध गरेको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गरेको हाे ।

संघका पूर्व अध्यक्ष बसन्त लम्सालले राजनीतिक पार्टीमा आवद्ध भएका व्यक्तिले लघुवित्त विरुद्ध आन्दोलन गरेको बताएका छन् । लघुवित्तमा गरिएको लगानी असुरक्षित भएको र यस्तै अवस्था रहे संस्था नै बन्द गर्नुपर्ने अवस्था आएको जनाउँदै उनले लघुवित्तका कर्मचारीलाई लुट्ने, कालोमोसो दल्ने काम भएकाले अहिले काम गर्ने वातावरण नभएको बताए । उनले यसका लागि मिडियाले महत्वपूर्ण भूमिका खेल्न सक्ने भन्दै सहयोगका निम्ति अपिल समेत गरे ।

नेपालकाे कानून अनुसार दर्ता भएका संस्थाहरु माथि अस्वभाविक माग राखेर धम्माउने गरिएको उनले बताए । लघुवित्तका विरुद्ध पछिल्लो समय संघर्षको कार्यक्रम नै घाेषणा गरेर आन्दोलन हुने गरेको छ । लघुवित्त संस्था खारेजी हुनुपर्ने, शून्य ब्याजदरमा ऋण उपलब्ध हुनुपर्ने, ऋण मिनाहा हुनुपर्ने लगायतका अस्वभाविक मागहरु राखिएको भन्दै उनले यस्ता मागकाे अर्थ नै नरहेको बताए ।

लघुवित्तले गलत गरको भए कानुनी बाटो अपनाएर कारवाही भोग्न तयार रहेको भन्दै उनले नभएकाे आरोप लगाएर काम गर्ने वातावरण नबिगार्न आग्रह गरेका छन् । बाहिर आएका नकारात्मक गतिविधिमा नियामक निकायले पनि चासाे नदिएको भन्दै उनले अवैधानिक गतिविधिहरुलाई निरुत्साहित गर्न राष्ट्र बैंक लगायतका नियामक संस्थाले आवश्यक निर्णय लिनुपर्ने बताए ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार १७:४२