२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

पाँच वर्ष यही गठबन्धनको सरकार रहन्छः प्रधानमन्त्री

११ असार, मलेखु । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेकै गठबन्धनको सरकार पाँच वर्ष चल्ने बताउनुभएको छ । धादिङको गजुरीस्थित आदर्श बहुमुखी क्याम्पसको नवनिर्मित भवनको आज उद्घाटनका क्रममा प्रधानमन्त्री प्रचण्डले वर्तमान गठबन्धन नै पाँच वर्ष रहने बताएका हुन् ।

उनले भने, “अहिले कताकता यो सरकारको आयु कति भनेर मिडियामा हुने नहुने चर्चा चल्ने गरेको छ । पाँच वर्ष यो गठबन्धन केही हुने छैन, यही गठबन्धनको नेतृत्वमा देश विकासको युगतर्फ जानेछ ।”

अठारौँ शताब्दीमा कार्ल माक्र्स्ले समाजवाद र साम्यवादको परिकल्पना गरिरहँदा दुनियाँले के भन्छ ? नसोची तिमी आफू आफ्नो उद्देश्यमा अगाडि बढ भनेको स्मरण गर्दै प्रधानमन्त्री दाहालले अहिले पनि आफू दुनियाँले के भन्छ भन्नेभन्दा पनि राम्रो काममा ध्यान दिने गरेको बताए ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्रीको हैसियतले आफूले राम्रो गरेको भए पनि राम्रो गरेको देखि नसहने नकारात्मक प्रवृत्ति हावी भएको प्रधानमन्त्रीको भनाइ थियो । आफूले देश र जनताका पक्षमा राम्रो गर्दै जाने बताउँदै जनताका पक्षमा गरेका कामको जनताले नै फैसला गर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार १५:५८