१३ मंसिर २०८१, बिहीबार | Thu Nov 28 2024

नेकपाको चियापानको तयारी पूरा, ५० हजारलार्इ निमन्त्रणा ३५ हजार सहभागी हुने अनुमान

७ कात्तिक, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टीको (नेकपा) आगामी शनिबारको चियापान कार्यक्रममा ५० हजार जनालाई निमन्त्रणा बाँडेको छ । विजया दशमी, दीपावली, नेपाल सम्वत् र छठका अवसरमा पार्टी एकतापछि पहिलो पटक नेकपाले चियापन गर्न लागेको हो । नेकपाले चियापानको तयारी करिब पूरा गरेको छ ।

बुधबार दिउँसो नेकपाका महासचिव विष्णु पाैडेल, स्थायी समिति सदस्य योगेश भट्टरार्इ केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठ, केन्द्रीय सदस्य विनोद श्रेष्ठ लगायतले भृकुटीमण्डपमा गएर स्थलगत निरीक्षण गरेका छन । पाहुनाहरूलार्इ कसरी स्वागत गर्ने ? कुन गेटबाट भित्र छिर्ने ? र कुनगेटबाट बाहिरिने भन्ने समेत अाज टुंगो लगाइएको नेकपाका केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले दैनिकीलार्इ जानकारी दिए ।

भृकुटीमण्डपस्थित बगैँचामा हुने चियापान कार्यक्रममा करिब ५० हजारलाई निमन्त्रणा गरिएको श्रेष्ठले बताए । उनले चियापानमा करीब ३५ हजार सहभागी हुने अनुमान गरिएको बताए । चियापान कार्यक्रम दिउँसो १२ बजेदेखि ५ बजेसम्म चल्नेछ ।

श्रेष्ठले दैनिकीलार्इ दिएको जानकारी अनुसार दिउँसो १२ देखि ३ बजेसम्म पार्टीका कार्यकर्ता र सर्वसाधारण र दिउँसो ३ बजेदेखि ५ बजेसम्म विशिष्ट अतिथिको लागि समय छुट्टाइएको बताए। दिउँसो ३ बजेदेखि नेपालस्थित विदेशी कूटनीतिज्ञ, राजनीतिक दलका नेता, संवैधानिक अङ्गका पदाधिकारी सहभागी हुनेछन्। चियापान कार्यक्रमलाई व्यवस्थित बनाउनका लागि ३०० स्वयम्सेवक परिचालन गरिने छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७५, बुधबार १४:४५