निर्मला हत्या प्रकरणः गृहको भूमिका शंकास्पद, बर्खास्तको सिफारिस किन भयो फिर्ता ?
७ कात्तिक, काठमाडाैँ । कञ्चनपुर भीमदत्तनगरी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा प्रमाण नस्ट गर्ने कार्यमा संलग्न कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई बर्खास्त गर्न प्रहरी महानिरीक्षकले गरेको सिफारिस फिर्ता गरेपछि गृहमन्त्रालयको भूमिका शंकास्पद देखिएको छ ।
विष्ट र भट्टले प्रमाण नष्ट गर्न गरेका अनेक गतिबिधिले उनीहरूको नियतलार्इ प्रष्ट पारेको छ । तर पनि प्रहरी महानिरीक्षक समेतले बर्खास्त गर्न सिफारिस गर्दा मन्त्रालयले उक्त सिफारिस स्पष्टिकरण सोध्नु भनेर फिर्ता गर्नुले गृहमन्त्रालयको भूमिका शंकास्पद देखिएको हो । गृहमन्त्रालयले प्रमाण नष्ट गर्ने प्रहरी अधिकारीलार्इ कारबाहीबाट उन्मुक्ति दिन पुनः स्पष्टिकरण सोध्न भन्दै फाइल फिर्ता गरेको बुझिएको छ ।
जानकारहरूका अनुसार निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रमाण नष्ट गर्न नेतृत्व गर्ने विष्ट र भट्टलार्इ कारबाही गर्दा भिअाइपी भनिएको हत्याराको पहिचान खुल्ने डर गृह मन्त्रालयसँग छ । सुदुरपश्चिमको रेडियो रामरोशनका अध्यक्ष एकीन्द्र कुँवरले सामाजिक सञ्जालमा यही अाशयको अभिव्यक्ति दिएका छन । उनले लेखेका छन ‘एस पि बिष्टलाई बर्खास्त गर्ने पत्र कार्यान्वयन हुने अवस्था आयो भने एसपी बिष्टले त्यो VVIP भनिएको बलात्कारी हत्याराका बिषयमा सत्य कुरा सार्वजनिक गर्न सक्छन ।’ यसरी अाम अाशंका र गृह मन्त्रालयको गतिबिधि मिल्नु संयोगमात्र हो वा के ? यो खोजीको विषय बनेको छ ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दशैँ बिदाको अघिल्लो दिन असोज २९ मा सेवाबाट निश्कासनको सिफारिशसहितको पत्र गृह पठाएका थिए। निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा लामो समयसम्म एसपी बिष्टको बचाउ गर्दै आएका महानिरीक्षक खनालले आफूतिर औंला सोझिन थालेपछि बर्खास्त गर्न सिफारिस गरेका थिए तर खनालको सिफारिसलार्इ गृह मन्त्रालयले उल्टै फिर्ता पठाइदिए पछि भने प्रमाण नष्ट गर्नेहरू कारबाहीमा नपर्ने हुन कि भन्ने संशय देखिएको छ । मन्त्रालयको प्रहरी प्रशासन शाखाले प्रहरी प्रधान कार्यालयबाट आएको सिफारिसअनुसार आवश्यक प्रक्रिया पूरा गरेर आइतबार नै पत्र फिर्ता गरेको हो ।
प्रकाशित मिति : ७ कार्तिक २०७५, बुधबार ०८:३६