२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

शीर्ष नेता र अर्थमन्त्रीको जिल्ला केन्द्रित बजेट यथास्थितिमा पास हुन दिँदैनाैँः माधव नेपाल

२६ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले यथास्थितिमा बजेट पास हुन नदिने बताएका छन् । काठमाडौंमा सुरू समाजवादी प्रेस संगठनको पहिलो केन्द्रीय अधिवेशनलाई सम्बोधन गर्दै उनले आफूहरु सत्ता पक्षकै भए पनि यथास्थितिमा बजेट पास हुन नदिने बताएका हुन् ।

उनले भने, ‘यही अवस्थामा, यही यथास्थितिमा बजेट पास हुँदैन । हामी प्रतिपक्षको सांसद भएर होइन, सत्ता पक्षकै भएर पनि यही यथास्थितिमा यो बजेट पास हुन दिँदैनौँ ।’ भौतिक पूर्वाधारको धेरै बजेट शीर्ष नेताहरु र अर्थमन्त्रीको जिल्लामा छुट्याइएको भन्दै उनले बजेट पक्षपातपूर्ण भएको बताए । सरकार छोड्न परे पनि अन्यायको विरुद्ध लड्ने उनले बताए । ‘अब कुनै पनि ठाउँमा हामी विभेद, अन्यायको बिरुद्धमा लड्नेछौँ । सरकार छोड्नपरे परोस्, यो अन्याय सहनु हुँदैन,’ उनले भने ।

उनले नेपालमा भ्रष्टाचारको नाङ्गो र चर्कोरुप देखिएको टिप्पणी समेत गरेका छन् । समाजवादी प्रेस संगठनको  उनले नेपाली राजनीतिमा देखिएको भ्रष्टाचारको नाङ्गो रुप आफ्नो पार्टीले परिर्वतन गर्न चाहेको बताए । उनले भने, ‘नेपाली राजनीतिमा सबभन्दा चर्को कुरा भ्रष्टाचारको प्रवृति देखिएको छ । पुरै राजनीति विकृत हुनुको पछाडी यो भ्रष्टाचारले काम गरेको छ । विना पैसाको कुनै काम नहुने, पैसामा लोभिने, जनतालाई पीडा दिने शोषक, सामन्त ,जाली, फटाहा पूँजीपतिहरु हावी हुन पुग्ने इमान्दार पिल्सिरहनुपर्ने जुन यो अवस्था छ,यसलाई हामी परिवर्तन गर्न चाहान्छौं ।’

उनले नेपाली समाजमा भ्रष्टाचार र कुरीतिको पनि नाङ्गो रुप देखिएको भन्दै त्यसका विरुद्धमा राजनीतिक र समामाजिक अभियान्ताले स्पस्ट दृष्टिकोण बनाउन आवश्यक रहेको समेत बताए । उनले भ्रष्टाचारको विरुद्धमा असल र स्वच्छ छवी बनाएर काम गर्न सके मात्र कर्तव्य पूरा हुने भन्दै कोही कसैमाथि आग्रह पूर्वाग्रह नराखी कलम चलाउन पार्टी निकट पत्रकारलाई निर्देशन दिए ।

संविधानमाथि आँच आउने कुनै पनि क्रियाकलाप भए त्यसका विरुद्ध एक भएर कलम चलाउन उनको अनुरोध छ । ‘अहिले नेपाली समाजमा भ्रष्टाचारको पनि नाङ्गो रुप आएको छ । चाहे त्यो भूटानी शरणार्थी प्रकरणमा होस् या विना पैसा कुनै काम नहुने प्रवृति होस्,मिटरव्याजले पीडित जनताको क्रन्दनको कुरा होस् वा दलितमाथि भएको भेदभावको प्रवृति होस् यी सबै खालका गलत प्रवृतिका विरुद्धमा राजनीतिक र सामाजिक अभियान्ताहरुले प्रस्ट अृष्टिकोण बनाएर अगाडी बढ्न जरुरी छ ।’ नेपालले भने ।

प्रकाशित मिति : June 9, 2023 at 1:05 pm