२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

सञ्चार क्षेत्रको पुर्नसंरचनाका लागि नयाँ कानून आवश्यकः मन्त्री शर्मा

२४ जेठ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आम सञ्चार क्षेत्रको पुर्नसंरचनाका लागि सरकारले कानून निर्माणमा जोड दिएको बताएकी छिन् । बुधबार आमसञ्चार क्षेत्र सुधार सुझाव समितिले तयार पारेको प्रतिवेदन ग्रहण गर्दै मन्त्री शर्माले राजनीतिक परिवर्तन, सूचना प्रविधिको विकाससँगै धेरै क्षेत्रमा परिवर्तन भए पनि आम सञ्चार क्षेत्रमा परिवर्तन आवश्यक रहेकाले आफूले मन्त्रालय सम्हालेलगत्तै कानून निर्माणमा जोड दिएको बताईन् ।

गत फागुन २६ गते मन्त्रालयले वरिष्ठ पत्रकार डा. सुरेश आचार्यको संयोजकत्वमा आम सञ्चार सुधार सुझाव समिति गठन गरेको थियो । समितिले तीनवटा विधेयक, एउटा विधेयकमाथिको सुुझाव र अन्य नीतिगत सुझाव समेटेर तयार पारेको प्रतिवेदन बुुझाएको छ ।

प्रतिवेदन ग्रहण गर्दै मन्त्री शर्माले मन्त्रालयले एक चरण अध्ययन गरेर विधेयकहरु प्रक्रियामा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन् । सार्वजनिक सेवा प्रसारण विधेयक राष्ट्रियसभाबाट पारित भएर प्रतिनिधिसभामा पुगेको जानकारी दिंदै उनले समितिले दिएको सुझावको आधारमा अन्य विधेयक अघि बढाउने बताईन् ।

उनले भनिन् ‘विगतमा सरकारले एउटा सोंचबाट कानूनको मस्यौदा गर्ने तर मुख्य सरोकारवालाहरुकै विमति रहने अवस्था पनि देखियो अब त्यस्तो नहोस् र सबै कानुनहरुको पत्रकारिता क्षेत्रले स्वामित्व लिन सहज होस् भनेर जीवनको महत्वपूर्ण हिस्सा पत्रकारितामै समर्पण गरेका विज्ञ पत्रकारहरुलाई यो जिम्मा दिइएको हो, समयमै महत्वपूर्ण प्रतिवेदन तयार गरेकोमा धन्यवाद पनि भन्न चाहन्छु ।’

प्रकाशित मिति : June 7, 2023 at 7:51 pm