१२ चैत्र २०८२, बिहीबार | Thu Mar 26 2026

व्यापारिक स्वार्थमा पूर्व नासुलाई करारमा नियुक्ति दिएर बजेट बनाउने जिम्मा

२३ जेठ, काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले अनधिकृत व्यक्ति प्रवेश गराएर करको दर हेरफेर गराएको अरोप चलिरहेकै समयमा अर्थ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै पूर्व नासुलाई विज्ञको रूपमा बजेट बनाउन लगाइएको भन्दै विज्ञप्ति नै जारी गरेको छ ।

सोमबार साँझ मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव धनिराम शर्माले विज्ञप्ति जारी गर्दै करारमा नियुक्ति दिएर पूर्व नासु रामकृष्ण श्रेष्ठलाई बजेट बनाउन लगाइएको प्रष्ट पारेका छन । श्रेष्ठ स्वयंले पनि यस विषय स्वीकार गरिसकेका छन ।

श्रेष्ठलाई सूचना प्रविधि सहायकमा करारमा नियुक्त गरी आर्थिक विधेयक २०८०/८१ टाइप गर्ने काममा लगाइएको भने पनि उनको करको दर हेरफेरमा व्यपारिक स्वार्थ समूहको काम गरेको आरोप संसदसम्म पुगिसकेको छ । श्रेष्ठले स्वयंले पनि अर्थमन्त्री डा महतले संसदमा पेश गरेको बजेटमा करका दर संशोधन गर्ने कार्यमा निकै मिहिनेत गरेर काम गर्नुपरेको बताइसकेका छन ।

उनले करका दर मिलाउने बारेमा आफू विज्ञनै भैसकेको समेत दाबी गरेका छन । श्रेष्ठ भन्सार विभागमा लामो समय काम गरेर नायब सुब्बाबा अवकाश पाएका कर्मचारी हुन । श्रेष्ठको नियुक्ति भने विगतकै अर्थमन्त्रीले गरेको बुझिएको छ ।

यस्तो छ मन्त्रालयको विज्ञप्ति

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलवार १३:४७