बडादशैँले सामाजिक एकता र आपसी सद्भाव अभिवृद्धि गर्ने राष्ट्रपति भण्डारीको विश्वास
२ कात्तिक, काठमाडाैँ । असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड बडा दशैंका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।
मान्यजनबाट टीका, जमरा, फूलपाती र प्रसादसहित आर्शिवाद ग्रहण गर्न र जीवन्त पारिवारिक जमघट एवम् पुनर्मिलन गराई खुशीयाली र हार्दिकता साटासाट गर्न प्रभावकारी भूमिका निर्वाह गरिरहेको हाम्रो सांस्कृतिक वैभवको रुपमा रहेको बडादशैँले सामाजिक एकता, आपसी सद्भाव र आत्मीय भ्रातृत्व अभिवृद्धिमा ठूलो मद्दत पुग्ने विश्वास राष्ट्रपतिले व्यक्त गर्नुभएको छ ।
घटस्थापनादेखि कोजाग्रत पुर्णिमासम्म मनाइने बडादशैँको अवसरमा विविध धार्मिक सांस्कृतिक क्रियाकलाप एवं उत्सव हुने महापर्वको यस महत्वपूर्ण अवधिमा विभिन्न प्रजातिका बीउबिजनबाट जमरा उमारी त्यसलाई प्रसाद र आशीर्वादका रुपमा ग्रहण गरिने परम्पराले प्रत्यक्ष तथा परोक्षरुपमा अन्न र स्वच्छ वातावरणको महत्व स्थापित गर्न सहयोग पु¥याएको बताउँदै राष्ट्रपति भण्डारीले दशैँघरमा कृषि औजार र विभिन्न बनस्पतिकोपूजा गरिने चलनलेमानव जीवनसँग घनिष्ट सम्बन्ध रहेको बोटबिरुवा र कृषि प्रणालीको संरक्षण गर्नुपर्ने चेतना फैलाएको तथा सांस्कृतिक मूल्य मान्यता र मानव जीवनलाई सुखी र समृद्ध तुल्याउने सन्देश समेत प्रवाह गर्दै आएको शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।
समाजमा अनादिकालदेखि हर्ष्लासपूर्वक परम्परागत मनाउने गरिएका विभिन्न चाडपर्वहरुले भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीच रहेको मौलिक सृदृढ सांस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न हाम्रो धरोहरका रूपमा रहेका बताउँदै उहाँले सन्देशमा यी बहुमूल्य सांस्कृतिक सम्पदाको संरक्षण एवं सम्बद्र्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
प्रकाशित मिति : २ कार्तिक २०७५, शुक्रबार ०६:१७