मन्त्रीहरू माथि तत्काल डण्डा चलाउन माधव नेपालको माग, केही मन्त्रीले दशैँ मान्न नपाउने संकेत
२८ असोज, काठमाडाैँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले वर्तमान सरकारका केही मन्त्रीहरू माथि कारबाही गर्न ढिला भैसकेको बताएका छन । मन्त्रीहरुको काम कारबाहीप्रति असन्तुष्टि जनाउँदै अाएका नेपालले मन्त्रीहरुलाई डण्डा चलाउन प्रधानमन्त्रीले ढिला गर्न नहुने उनले बताए ।
काभ्रेको मण्डनदेउपुर नगरपालिकाले सुरु गरेको नगर बस सेवाको उद्घाटन गर्दै नेता नेपालले सरकारले लिएको योजनालाई सार्थकता दिन मन्त्रीहरुमा करेक्सन जरुरी रहेको बताए । उनले भने, ‘अब ढिला भइसक्यो, मन्त्रीबाट नै डण्डा चलाउन थाल्नुस्, तलसम्म चल्ने गरी चलाउनुस्, प्रधानमन्त्रीज्यू ।’
दुई तिहाइको समर्थन प्राप्त सरकारको सपना पुरा गर्ने हो भने सबैलाई परिचालन गर्नुपर्ने उनले बताए । यसअघि संसदीय समितिको बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीले काभ्रेको वनेपामा पैसा कमाउने मेसोका निम्तिमात्रै विमानस्थल बनाउन खोजेको भन्दै असन्तुष्टि पोखेका थिए । अाइतबार काभ्रे नै पुगेर पूर्वप्रधानमन्त्री नेपालले मन्त्रीमाथि डण्डा चलाउन सार्वजनिक रूपमा माग गरेका हुन ।
यसअघि देखि नै कमजोर कार्यशैली भएका र विवादित केही मन्त्रीलार्इ दशैँको बीचमा विदा गर्ने तयारी भएको भन्दै नेकपाभित्र चर्चा चलेको थियो । उक्त र चर्चा र माधव नेपालको सार्वजनिक मागका कारण केही मन्त्रीले दशैँनै मान्न नपाइ बिदा हुने हो भन्ने अाशंका समेत गरिएको छ । कार्यशैलीका कारण भाैतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, समान्य प्रशासनमन्त्री लालबाबु पण्डित, पर्यटनमन्त्री रविन्द्र अधिकारी, सञ्चारमन्त्री गोकुल बस्कोटा, अापूर्तिमन्त्री मात्रिका यादव लगायतले अाम मानिसका बीचमा विवादित छवी बनाएका छन ।
यो पनि पढ्नुहोस्
–पर्यटन मन्त्रीप्रति माधव नेपालको अाक्रोशः ‘पैसा खान वनेपामा विमानस्थल बनाउन खोजियो’
प्रकाशित मिति : २८ आश्विन २०७५, आईतवार २१:४१