२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

बालकृष्णजीले आफूलाई निर्दोष साबित गर्छु भन्नुभएकाले पार्टीले कारवाही गरेनः प्रवक्ता महत

२ जेठ, काठमाडाैं । अर्थमन्त्री एवं नेपाली कांगेस प्रवक्ता प्रकाशशरण महतले पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले आफू निर्दोष रहेको र त्यसलाई साबित गर्ने कुरा पार्टीसँग राखेको बताएका छन् । आफूलाई निर्दोष साबित गर्छु भनेपछि नै पार्टीको कारबाही प्रक्रिया निष्कर्षमा नपुगेको महतले बताए ।

मंगलबार पत्रकारहरूसँग गरिएको अन्तरक्रियामा बोल्दै मन्त्री महतले भने, खाँणले ‘आफू निर्दोष छु, साबित गर्छु’ भनेको पनि महतले बताए । घटनाको अनुसन्धान जारी रहेकाले ‘निर्दोष नफसून्, दोषी नउम्किऊन्’ भन्ने पक्षमा पार्टी रहेको प्रवक्ता महतले जनाए । खाँणले निर्दोष साबित गर्छु भनेकाले पार्टीले कारबाही नगरेको पनि उनले बताए ।

उनले भने, ‘आरोपित व्यक्तिमा पार्टीका बालकृष्ण खाँण पनि हुनुहुन्छ । अनुसन्धान जारी छ । निष्कर्ष आइसकेको छैन। उहाँले निर्दोष छु साबित गर्छु भन्नुभएको छ । अनुसन्धान निष्पक्ष हुनुपर्‍यो । त्यसमा पूर्ण सहयोग गर्छौं । ‘दोषी नउम्किऊन्, निर्दोष नफसून्’ भन्ने हाम्रो मान्यता हो। त्यो प्रकरणमा जोडिएका उहाँहरूले निर्दोष साबित गर्छु भनेपछि पार्टीले कारबाही गर्ने कुरामा निष्कर्षमा नपुगेको हो ।’ ‘नक्कली भुटानी शरणार्थी प्रकरण गम्भीर विषय हो । पार्टीले यसलाई गम्भीरताका साथ लिएको छ । यसमा अनुसन्धान निष्पक्ष हुनुपर्छ । त्यसमा हामी पूर्ण सहयोग गर्छौँ । दोषी नउम्किउन्, निर्दोष नफसुन् ।’

खाँणकी पत्नी मञ्जु खाँण कहाँ छिन् भनेर महतलाई गरिएको प्रश्नकाे जवाफमा उनले को कहाँ छ भनेर पार्टीले फलो गर्ने कुरा नभएको स्पष्ट पारे । साथै, उनले यो प्रकरणमा मिडिया र सामाजिक सञ्जालमा ट्रायल भइरहेको पनि गुनासो समेत गरे । ‘आरजु राणाको केसमा उहाँले प्रमाणित होस् भनेर उजुरी गर्नुभएको छ । मिडिया ट्रायल गरेर दोषी हो भनेर भन्न भएन । यस प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । सार्वजनिक अडियो झूटो हो भन्ने हाम्रो विश्वास छ ।’

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलवार १३:४२