७ असार २०८३, आइतबार | Sun Jun 21 2026

नेपाल लाइफ २३औँ वर्षमा प्रवेश, सेवाको गुणस्तरीयतालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता

२२ वैशाख, काठमाडाैं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी २२ वर्ष पूरा गरी २३ औँ वर्षमा प्रवेश गरेको छ।

२०५८ साल वैशाख २१ गते स्थापित यस कम्पनीले बिहीबार विभिन्न कार्यक्रमहरु गरेर आफ्नो वार्षिकोत्सव मनाएको छ। यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सम्पूर्ण ग्राहकबाट प्राप्त विश्वास, कम्पनीको मेरुदण्डका रुपमा रहेका बीमा अभिकर्ता, मार्गनिर्देशन प्रदान गर्ने सञ्चालक पदाधिकारी, आरोह–अवरोहमा सदैव साथ दिने कर्मचारी, माया र स्नेह प्रदान गर्ने सेयरधनी, नेपाल बीमा प्राधिकरण, अन्य नियामक निकायहरुका साथसाथै यस २२ वर्षको अवधिमा सहयोग गरी नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीका रुपमा स्थापित गर्न अतुलनीय भूमिका खेल्ने सबै सरोकारवालामा धन्यवाद ज्ञापन गरे।

आगामी दिनमा कम्पनीलाई थप सशक्त बनाउनका निम्ति नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकको सेवाको गुणस्तरीयतालाई थप प्रभावकारी बनाउन कम्पनीले समय सुहाँउदो योजना ल्याउने पराजुलीले बताए। यसका साथै सम्पूर्ण सरोकारवालाको अपेक्षालाई पूरा गर्न कम्पनी दत्तचित्त भएर लागिपर्ने उनले प्रतिबद्धता गरे।

२२ वर्ष पूरा गरी २३ वर्षमा प्रवेश गरेको सुखद अवसरमा कम्पनीले सातवटै प्रदेशबाट रक्तदान कार्यक्रम सञ्चालन गरेको छ। ती कार्यक्रममार्फत कोशी प्रदेशको बिर्तामोडमा ५६, मधेश प्रदेशको वीरगन्जमा १६, बागमती प्रदेशको नारायणघाटमा ३९ र काठमाण्डौमा ४१, गण्डकी प्रदेशको पोखरामा ५६, लुम्बिनी प्रदेशको बुटवलमा २५, कर्णाली प्रदेशको सुर्खेतमा ३२ र सुदूरपश्चिमकोे महेन्द्रनगरमा ४५ गरी कुल ३१० पिन्ट रगत संकलन गरिएको छ।

‘किनकि जीवन अमूल्य’ छ भन्ने मूल नारालाई आत्मसाथ गर्दै २२ वर्षदेखि नेपालीको घरदैलोमा जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा प्रवाह गर्दै आएको नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सको २०८० चैत मसान्तसम्ममा लगानी रु. १६२.२८ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमा कोष करिब १५८ अर्ब रुपैयाँ सञ्चित रहेको छ। कम्पनीले आफ्ना सेवाग्राही तथा ग्राहकका लागि देशभर फैलिएका आफ्ना करिब १९२ कार्यालय सञ्जालमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ।

प्रकाशित मिति : May 5, 2023 at 10:28 am