वाणिज्य बैंकमध्ये नाफामा नबिल बैंक अग्रस्थानमाः ७ बैंकको नाफामा गिरावट, कुनले कति कमाए ?
७ वैशाख, काठमाडाैं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०७९/८० तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेका छन् । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा वाणिज्य बैंकहरुकाे नाफा ११.७१ प्रतिशत बढेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ४३ अर्ब ५९ करोड ९१ लाख रुपैयाँ खुद नाफा गरेका बैंकहरुले चालु आवमा ११.७१ प्रतिशतले नाफा बढाएर ४८ अर्ब ७० करोड ८६ लाख रुपैयाँ पुगेकाे छ ।
बैंकहरुले प्रकाशित गरेको वित्तीय अवस्था अनुसार सबैभन्दा बढी नाफा कमाउने अग्रस्थानमा नबिल बैंक रहेको छ । चालु आवको ९ महिनामा बैंकले ५ अर्ब ११ करोड ६१ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको हो । जुन गत आवको चैत मसान्तसम्मको तुलनामा भने ५२.६३ प्रतिशतले बढी हो । गत आवको समिक्षा अवधिमा बैंकले ३ अर्ब ३५ करोड २० लाख रुपैयाँ नाफा गरेको थियो ।
दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ। यो बैंकले अघिल्लो वर्षको तुलनामा १६.९६ प्रतिशतले नाफा बढाउँदै ४ अर्ब ३५ करोड रुपैयाँ आर्जन गरेको छ। अघिल्लो बैंकले ३ अर्ब ७२ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।
एनआईसी एसिया बैंकले अघिल्लो वर्ष ३ अर्ब ६० करोड रुपैयाँ नाफा आर्जन गरेको यो बैंकले समीक्षा अवधिसम्म ४ अर्ब १ करोड रुपैयाँ नाफा आर्जन गरेको छ।
राष्ट्रिय वाणिज्य बैंककाे नाफा ३६.६९ प्रतिशतले बढेर ३ अर्ब ५७ करोड रुपैयाँको नाफा कमाएकाे छ । अघिल्लो वर्ष यो बैंकले २ अर्ब ६१ करोड रुपैयाँ नाफा आर्जन गरेको छ।
नेपाल इन्भेस्टमेन्ट मेगाले अघिल्लो वर्ष २ अर्ब ४७ करोड रुपैयाँ नाफा आर्जन गरेकोमा बैंकले याे अवधिमा ३ अर्ब ४ करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। बैंकले यो अवधिमा २२.९६ प्रतिशत नाफा बढाएको हाे । सञ्चालनमा रहेका २१ वटा वाणिज्य बैंकमा १४ वटाको नाफा बढेको छ भने ७ वटाको घटेको छ ।
चैत मसान्तसम्ममा नाफा बढाउने बैंकमा प्रभु बैंक, नबिल बैंक, लक्ष्मी बैंक, एभरेष्ट बैंक, नेपाल एसबिआई बैंक, राष्ट्रिय वाणिज्य, हिमालयन, नेपाल इन्भेष्टमेन्ट मेगा, ग्लोबल आइएमई, एनआईसी एशिया, सानिमा, स्टयान्डर्ड चार्टर्ड, एनएमबि र कुमारी बैंक रहेका छन् । एनएमबि र कुमारी बैंकको नाफा भने १ प्रतिशतभन्दा कम बढेको छ ।
यस्तै याे अवधिमा ७ वटा वाणिज्य बैंकको नाफा भने घटेको छ । सनराइज, प्राइम कमर्सियल बैंक, माछापुच्छ्रे बैंक, नेपाल बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक र कृषि विकास बैंकको नाफा भने गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको हो ।
प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार १३:३०