२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

२७ वर्षपछि पूरा हुँदै झुम्साखोलाको पानी पिउने बुटवलवासीको रहर


१२ चैत, बुटवल । २७ वर्षपछि झुम्साखोलाको पानी पिउने बुटवलवासीको रहर पूरा हुने भएको छ । पछिल्लो समय नेकपा एमालेका उपाध्यक्ष समेत रहेका पूर्व उपप्रधान एवं अर्थमन्त्री विष्णु पाैडेलले अायोजना सम्पन्न गर्नका लागि गरेको ताकेता र सहयोगका कारण अागामी वैशाखमै बुटवलवासीको झुम्साखोलाको पानी पिउने रहर पूरा हुने भएको हो ।

पौडेलले  शनिबार आयोजनाको निरीक्षण गरेर प्रगतिको जानकारी लिएका छन । आयोजनाको ड्याम, पाइपलाइन बिस्तार लगायतका संरचना निर्माण कार्यको निरिक्षण गर्दै पौडेलले अब झुम्साको पानी बुटवलमा झार्ने र बुटवलका जनताको आवश्यकता पूरा गर्ने दिन धेरै ताढा नभएको प्रतिक्रिया दिएका छन ।

झुम्सा खानेपानी आयोजनालाई बुटवलको मेलम्चीको रूपमा व्याख्या गर्ने पाैडेलले आयोजना पूरा भएपछि बुटवललाई ५० वर्षसम्म खानेपानीको समस्या नहुने बताएका छन । पाल्पाको तिनाउँ गाउँपालिकाबाट बुटवल झारिने पानीका लागि इन्टेक निर्माणगरी त्यहाँ जम्मा हुने पानीलाई २ वटा ठूला पाइपमार्फत वितरण गरिने योजना रहेको छ । पाल्पाको तिनाउ गाउँपालिका अन्तर्गतको झुम्सा खोला बुटवलबाट करिब १४ किलोमिटर टाढा पर्छ ।

निर्माण कम्पनीले आगामी वैशाखको अन्तिम सम्ममा योजनाको काम सक्ने बताएको छ । ३ करोड ४० लाख लिटर पानीको माग दैनिक रूपमा भए पनि हाल बुटवलमा तिनाउ खोला र विभिन्न २२ वटा भूमिगत पानीका स्रोतबाट खानेपानी संस्थान र विभिन्न उपभोक्ता समितिमार्फत साढे दुई करोड लिटर पानीमात्र वितरण हुन्छ। २०५२ सालमा झुम्सा खानेपानी आयोजनाको काम सुरू गरिएको थियो । आयोजना सम्पन्न भएर बुटवलवासीको घरघरमा पानी पुर्याउँदा करिब १२ अर्ब खर्च हुने अनुमान गरिएको छ । तस्बिरहरूः यम पाण्डे

प्रकाशित मिति : १२ चैत्र २०७९, आईतवार ०९:१५