विद्युत बिक्री आम्दानीसँगै बढ्यो ग्रीन भेन्चर्सको नाफा, प्रतिसेयर आम्दानी कति ?
३० कात्तिक, काठमाडौं । ५२.४ मेगावाट क्षमताको लिखु–४ जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनी ग्रीन भेन्चर्स लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
प्रकाशित विवरण अनुसार समीक्षा अवधिमा कम्पनीले ३३ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा कम्पनीले ३० करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यस तुलनामा यस वर्ष कम्पनीको खुद नाफामा ११.१८ प्रतिशतले बढेकाे छ ।
समीक्षा अवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी ५८ करोड ९३ लाख रुपैयाँ कायम भएको छ, जुन गत वर्षको सोही अवधिमा ५७ करोड ५८ लाख रुपैयाँ थियो। आयोजना सञ्चालन खर्च १६ करोड ३४ लाख रुपैयाँ कटाएपछि कम्पनीको कुल मुनाफा ४२ करोड ५८ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा गत वर्षको ४१ करोड ११ लाख रुपैयाँबाट बढेर ४१ करोड ८८ लाख रुपैयाँ कायम भएको छ।
कम्पनीको चुक्ता पूँजी ३ अर्ब ४३ करोड ७५ लाख रुपैयाँ रहेको छ भने सञ्चित मुनाफा १ अर्ब १७ करोड ६० लाख रुपैयाँ रहेकाे छ । कम्पनीको त्रैमासिक प्रतिसेयर आम्दानी गत वर्षको ८ रुपैयाँ ८० पैसाबाट बढेर ९ रुपैयाँ ८० पैसा (वार्षिकीकृत ३९ रुपैयाँ १९ पैसा) पुगेको छ। यसैगरी, प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ २१ पैसा कायम भएको छ ।
प्रकाशित मिति : November 16, 2026 at 2:59 pm










