१०५ देशका गभर्नरको कार्यसम्पादन मूल्यांकन प्रतिवेदन सार्वजनिक, गभर्नर पौडेलले पाए ‘बी’ ग्रेड
३० कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय वित्तीय प्रकाशन संस्था ग्लोबल फाइनान्सले विश्वभरका केन्द्रीय बैंकका गभर्नरहरूको सन् २०२६ को वार्षिक कार्यसम्पादन मूल्यांकन सार्वजनिक गरेको छ। प्रतिवेदनमा नेपाल राष्ट्र बैंकका वर्तमान गभर्नर डा. विश्वनाथ पौडेलले ‘बी’ ग्रेड प्राप्त गरेका छन्।
ग्लोबल फाइनान्सले सन् २०२५ जुलाई १ देखि २०२६ जुन ३० सम्मको अवधिलाई आधार बनाएर विश्वका विभिन्न देशका केन्द्रीय बैंकका गभर्नरहरूको कार्यसम्पादन मूल्यांकन गरेको हो। यस मूल्यांकनमा मौद्रिक नीतिको प्रभावकारिता, वित्तीय क्षेत्रको नियमन तथा सुपरिवेक्षण, नीतिगत पारदर्शिता, केन्द्रीय बैंकको स्वायत्तता, आर्थिक पूर्वानुमान र राष्ट्रिय आर्थिक लक्ष्य प्राप्तिमा पुर्याएको योगदानलाई मुख्य आधार बनाइएको छ।
प्रतिवेदनमा गभर्नरहरूलाई ‘ए प्लस’देखि ‘एफ’सम्मको ग्रेड प्रदान गरिएको छ। ‘ए प्लस’ उत्कृष्ट र ‘एफ’ सबैभन्दा कमजोर कार्यसम्पादनको सूचक हो। यस मूल्यांकनमा नेपालका गभर्नर पौडेलले ‘बी’ ग्रेड पाएका हुन्।

सन् २०२५ मेमा राष्ट्र बैंकको नेतृत्व सम्हालेका पौडेलले बाह्य क्षेत्रको सन्तुलन कायम राख्न र मूल्यवृद्धिलाई नियन्त्रणभित्र राख्न गरेको प्रयासले राम्रो अंक पाएको प्रतिवेदनमा उल्लेख छ । विशेषगरी विदेशी मुद्रा सञ्चितिमा भएको उल्लेखनीय वृद्धि नेपालको अर्थतन्त्रका लागि सकारात्मक पक्षका रूपमा चित्रित गरिएको छ ।
वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्सको निरन्तर वृद्धिले नेपालको विदेशी विनिमय सञ्चिति २४ अर्ब अमेरिकी डलरभन्दा माथि पुगेको थियो । उक्त सञ्चितिले करिब १९ महिनासम्म वस्तु तथा सेवाको आयात धान्न सक्ने अवस्था बनेको प्रतिवेदनले जनाएको छ । त्यस्तै, पौडेलको कार्यकालको सुरुवातमा मुद्रास्फीति १ देखि १.५ प्रतिशतसम्म झरेको र पछिल्लो समय बढेर करिब ५ प्रतिशत पुगे पनि निर्धारित सीमाभित्रै रहेको उल्लेख गरिएको छ । मौद्रिक नीतिमा गरिएको लचकताले ब्याजदर घटाउन तथा आर्थिक गतिविधि विस्तार गर्न सहयोग पुर्याएको मूल्यांकन छ ।
प्रकाशित मिति : November 16, 2026 at 3:52 pm










