पार्टी एकतालाई उल्टयाउने षड्यन्त्र परास्त गर्ने प्रचण्डको दाबी
२० असोज, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतालाई उल्टयाउने षड्यन्त्र भइरहेको भन्दै त्यस्ता तत्वलाई परास्त गर्ने दाबी गरेका छन ।
शनिबार दशैंलगायतका चाडपर्वको अवसर पारेर काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले आइतबार बस्ने सचिवालय बैठकले षड्यन्त्र चिर्नेगरी निर्णय गर्ने बताए । उनले पार्टी संगठनहरुको एकीकरणको विषयमा पार्टी भित्र ठूलो व्यवधान नरहेको उल्लेख गर्दै त्यसलाई छिट्टै पूर्णता दिने दाबी पनि गरे ।
अध्यक्ष प्रचण्डले पार्टी एकतालाई सुदृढ बनाउने र पार्टीलाई एक्काइशौं शताब्दीको समाजवादी बाटोमा अघि बढाउने दृढता व्यक्त गरे ।सरकारको कामलाई लिएर पार्टी भित्रैबाट आलोचना भइरहेका बेला उनले जनताले महशुस गर्नेगरी सरकारको कामलाई प्रभावकारी बनाउन मेहनत गर्ने समेत बताए ।
नेकपाकै वरिष्ठ नेता माधवकुमार नेपालको नाममा विगतदेखि नै गुटबन्दी गरिरहेको समूहले पछिल्लो समय पार्टी एकतामा धक्का दिन अनेकखालका षडयन्त्र गरिरहेका छन । उनीहरूले पछिल्लो समय सरकारविरूद्ध मोर्चाबन्दीको प्रयास समेत गरेका छन ।
प्रकाशित मिति : २० आश्विन २०७५, शनिबार १५:२४