२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

एमालेको चेतावनीपछि पछि हट्यो सरकारः रसायनिक मलको अनुदानलाई निरन्तरता दिने निर्णय

६ चैत, काठमाडाैं । नेकपा एमालेकाे चेतावनीपछि रासयनिक मलमा दिएको अनुदान कटाैटी गर्ने निर्णयबाट सरकार पछि हटेको छ । सरकारले कृषि तथा पशुपक्षी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने निर्णय गरेको हो ।

आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती नगरी यथावत् राख्ने निर्णय गरेको हो । आइतबार नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्णय सच्चयाउनका लागि सरकारलाइ चेतावनी दिएका थिए ।

बैठकले रासायनिक मलमा दिँदै आएको अनुदानबारे विस्तृत अध्ययनपछि आवश्यक निर्णय गरी आगामी दिनमा थप व्यवस्थित र वैज्ञानिक बनाउने निर्णयसमेत गरेको सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

यसअघि कृषि तथा पशुपक्षी विकास मन्त्रालयको मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको थियो । आजको मन्त्रिपरिषद् बैठकपछि रासायनिक मलको अनुदान र मूल्यसमेत यथावत रहने भएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार १२:०५