१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

जनताको हितलाई केन्द्रमा राखेर काम गर्न कर्मचारीलार्इ मुख्यमन्त्रीको निर्देशन 

१८ असाेज, विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशका जनताको हितलाई केन्द्रमा राखेर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । बिहीवार भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरको कार्यालय उद्घाटन गर्दै मुख्यमन्त्री राईले उक्त निर्देशन दिएका हुन् । कार्यालय उद्घाटन गर्दै मुख्यमन्त्री राईले भने, ‘तपाईहरु नयाँ जिम्मेवारीमा हुनुहुन्छ, प्रदेशका जनताको हितलाई केन्द्रमा राखेर काम गर्नुस्, हामी त्यही अनुसार तपाईहरुको मूल्यांकन गर्नेछौं ।’

अहिले नयाँ नेपालमा रहेको समयमा नयाँ सोच, शैली र तरिकाबाट कार्य सम्पादन गर्दा सेवाग्राही चाँडै प्रभावित हुने हुँदा छिटो छरितो सेवा प्रवाह गर्न रार्इले आग्रह गरे । प्रदेश सरकारको नीति, कार्यक्रम तथा बजेट प्रभावकारी ढंगले कार्यान्वयन गरेर कृषकको अपेक्षा बमोजिम काम गर्न पनि मुख्यमन्त्री राईले कर्मचारीहरुलाई निर्देशन दिए ।

‘हामी यस प्रदेशका किसानहरुको समस्या अन्त्य गर्न चाहन्छौं, मुख्यमन्त्री राईले भने, हाम्रो बजेट किसानहरुका समस्या सम्बोधन गर्न केन्द्रित छ,’ रार्इले भने । प्रदेशको समृद्धिको आधार कृषि क्षेत्र भएकोले कृषिलाई पहिलो प्राथमिकतामा राखिएको मुख्यमन्त्री राईको भनाइ थियाे ।

प्रकाशित मिति : October 4, 2018 at 8:07 pm