२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

अर्जुननरसिंहले भतिजा, सीताले भाइ र हितबहादुरले छोरालाई पिएको जागिर दिएपछि कार्यकर्ता ट्वाँ

२६ फागुन, नुवाकोट । नेताहरूको आफन्त मोहका बारेका कार्यकर्ताहरू जानकार नै छन । जनताको प्रतिनिधिमा निर्वाचित भैसकेपछि पनि नेताहरूले आफन्तमोह अर्थात परिवारवाद त्याग्न नसक्दा तीनै नेताहरू आफ्नै कार्यकर्ताको निन्दा र घृणाको पात्र बनिरहेका छन । यस्तै भएको छ नुवाकोटमा पनि ।

नुवाकोटबाट प्रत्यक्ष निर्वाचित दुई प्रतिनिधिसभा सांसद सदस्य र सामानुपातिक प्रणालीबाट निर्वाचित भएका एक प्रतिनिधिसभा सदस्यले आफन्तलाई स्वकीय सचिव (पिए)को जागिर दिएपछि अहिले उनीहरू कार्यकर्ताको बीचमा आलोचनाको पात्र भएका छन । नेताको पिए बनेर राजनीतिमा थप सक्रिय बन्ने चाहना बोकेको कतिपय कार्यकर्ता भने नेताहरूको परिवारमोह देखेर ट्वाँ परेका छन ।

नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसी, नेता सीता मिजार र नेकपा माओवादी केन्द्रका नेता हितबहादुर तामाङले पिएको जागिर परिवारका सदस्यलाई नै बाँडेपछि चुनावको बेलामा धुलो खाने एउटा र चुनाव जिताएपछि जागिर खाने अर्को भन्दै कार्यकर्ताले चियापसलमा बसेर उनीहरूको निन्दा गरिरहेका छन ।

कांग्रेस नेता अर्जुननरसिंह केसीले भतिजा सरोज केसीलाई पिएको जागिर दिएका छन । सरोज एक दशक भन्दा बढी समयदेखि केसीको स्वकीयको रूपमा कार्यरत रहेका छन । उनी कांग्रेसको राजनीतिमा पनि सक्रिय छन । सांसद केसीले परिवारका सदस्यभन्दा बाहेकलाई कहिल्यै राजनीतिमा प्राथमिकता नदिएको भन्दै उनको आलोचना हुनेगरेको छ । पञ्चायतकालको हार्डलाइनरदेखि लोकतन्त्र र गणतन्त्रका हिमायतीसम्म बनेका केसीको परिवारका सबैजसो सदस्य राजनीतिमै रहेका छन । अझ नुवाकोटको कांग्रेस राजनीतिमा त केसीको परिवारवाद निकै हावी रहेको छ ।

यस्तै नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य हितबहादुर तामाङले छोरा रूपक तामाङलाई पिएको जागिर दिएका छन । तामाङ पनि परिवारवादको अर्को नमुना नेताको रूपमा आलोचित छन । हितबहादुरले परिवारकै सदस्य तेजबहादुर तामाङलाई दुई पटकसम्म पञ्चकन्या गाउँपालिकाको प्रमुख बनाए । जनयुद्धको नाम दिइएको माओवादीको सशस्त्र संघर्षको समयमा कुनै योगदान नभएको तेजबहादुरलाई दुई पटकसम्म पञ्चकन्या गाउँपालिकाको अध्यक्ष बनाएको भन्दै माओवादीकै कार्यकर्ताले सामाजिक सञ्जाल मार्फत हितबहादुरलाई जातिवादी नेताको आरोप लगाएर आलोचना समेत गरेका थिए । अहिले छोरालाई नै पिएको जागिर खुवाएपछि कार्यकर्तामा झन असन्तुष्टि बढेको छ ।

यस्तै नेपाली कांग्रेसकै नेता सीता मिजारले आफ्नो सहोदर भाइ बुद्धिमान मिजारलाई पिएको जागिर दिएकी छिन । उनी पहिलो पटक जनप्रतिनिधि बनेकी नेता हुन । समानुपातिक प्रणालीमा कांग्रेसबाट सांसद बनेकी उनले पहिलो अवसरमै भाइलाई पिएको जागिरदिएर राजनीतिमा प्राप्त अवसरमा परिवारवादको प्रयोग गरेकी हुन ।

सामान्यतया स्वकीय सचिव जनप्रतिनिधिले आफूलाई  सहयोग हुने व्यक्ति नै छान्छन यद्यपी त्यसमा पार्टीभित्रबाट भोलिका दिनमा नेतृत्वमा आउन लायक र जनसम्पर्क राम्रो भएकोले प्राथमिकता पाउने सामान्य प्रचलन नै रहेको छ । तर नुवाकोटका तीन सांसदले आफन्तलाई  जागिर खुवाउने उद्देश्यले स्वकीय राखेपछि सामाजिक सञ्जलामा उनीहरूको आलोचना तीव्र बनेको छ । जनप्रतिनिधिसँग सीधा सम्पर्क हुन नसक्दा पिए मार्फत आम कार्यकर्ता र जनाताको काम र गुनासो समाधानका लागि सेतुको रूपमा काम गर्नुपर्ने पिए नै छोरा, भतिजा र भाइ भएपछि त्यो प्रभावकारी हुन नसक्ने  कांग्रेस र माओवादीका नेताहरू बताउँछन ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार ०९:३५