२५ बैशाख २०८१, मंगलवार | Wed May 8 2024

-जीवन लामा

च्छोरोल्पा हिमताल घुम्न जाने भनेपछि जोकोही पनि तयार हुन्छन् । घुम्ने, फोटो खिच्ने र नयाँ नयाँ अनुभव लिने धेरैमा रहर हुन्छ नै । घुम्ने सिजन प्राय असोज कात्तिक महिना हो । यत्तिबेला न चिसो, न गर्मी । आन्तरिक तथा बाह्य पर्यटकको लागि उत्तम सिजनको रुपमा लिईन्छ असोज कात्तिकलाई । कतिपय अवस्थामा चैत्रदेखि जेठ महिनासम्म पनि ठीकठीकै मानिन्छ ।

म पनि ४ पटक यही बैशाख जेठ महिनामै पुगेको छु च्छोरोल्पा । उच्च हिमाली क्षेत्र भएकाले चिसो खासै हुँदैन यो सिजनमा । २०७५ सालमा पुगेको थिए चौथों पटक । ४ पटक पुग्दा पनि नथाकेको सायद म मात्र होला च्छोरोल्पा जानलाई । यस वर्ष धेरै पटक योजना बनेको थियो च्छोरोल्पा यात्रालाई । तर पटक पटकको यात्रा रद्द भएपछि हिउँदै भएपनि जाने कम्मर कसे । अघिल्लो दिन साँझपख ४ बजेतिर कफि गफमा घुम्न जाने कुरा चल्यो प्रहरी नायव उपरीक्षक गंगा प्रसाद पौडेलसँग । धेरै ठाउँको नाम लियौं तर विविध कारणले जान नसक्ने भयो । कि च्छोरोल्पा जाने त भन्ने सल्लाह भयो । यो सिजनमा त होटलहरु हुँदैन । ना गाउँ र वेदिङका होटल व्यवसायीहरु सबै काठमाडौ लागीसक्यो भन्ने खबर आयो । त्यसोभए खानेकुरा आफै पकाउने र टेण्ट बोकेर जाने सल्लाह भयो । त्यहाँका होटल व्यवसायीहरुलाई फोन गर्यौ । बल्लतल्ल एउटा होटल छ भन्ने खबर आयो । डिएसपीले जिल्ला न्यायधीश डिल्ली रत्न श्रेष्ठलाई भन्नु भएछ । भोलि पल्ट बिहान ८ बजे जाने सल्लाह भयो ।

बिहान ९ बजेतिर जिल्ला न्यायधीश डिल्ली रत्न श्रेष्ठको क्वाटरबाट नास्ता खाएर यात्रा सुरु भयो । यात्रामा जिल्ला न्यायधीश र प्रहरी नायव उपरीक्षकसहित ६जना सुरक्षाकर्मीहरु थिए । इलाका प्रहरी कार्यालय सिंगटीमा इन्सपेक्टर सानु तामाङले बिहानको खानाको व्यवस्था गर्नु भएको रहेछ । सिंगटीको असला माछा र खाना खाएपछि छ्योतछ्योततर्फ लाग्यौ । गाडी छ्योतछ्योतसम्म मात्र पुग्छ । छ्योतछ्योत पुगेपछि गाडीबाट ओर्लियौ । झोला सामानहरु मिलायौ । पहिलो दिनको यात्रा भएकोले जाँगर प्रशस्तै चल्यो । १५, १६ किलो होला सामानहरु । ती झोला पनि हलुका लाग्यो । यहाँबाट करिव २ देखि साढे घण्टा ठाडो उकालोे हिड्नु पथ्र्यो । आधा घण्टामै पुगौला झैं जोस चल्यो । सबै जना फटाफट अघि बढ्न थाल्यौ ।

२०७२ सालको भूकम्पपछि स्वीस सरकारले छ्योतछ्योतदेखि च्छोरोल्पासम्मै पैदलमार्ग निर्माण गरिदिएको छ । ठाउँमा आराम स्थल अनि धाराको व्यवस्था छ । कही बाटो झुकेला भन्ने डर छैन । छ्योतछ्योतहुँदै सिमीगाउँ पुग्न लगभग तीन हजार सिंढी चढ्नु पर्छ । म बाहेक सबै जनालाई नयाँ गन्तव्य भएकाले अघि बढ्न खासै समस्या देखिएन । उकालो नाक ठोकिने छ तर पनि सबैमा जोस, जाँगर प्रशस्तै देखिन्थे । न भोक, न प्यास, न थकाई तर पनि फटाफट उकालो उक्लिरहेको देखिन्थे । सबैको झोलामा ५, ६ दिनलाई पुग्ने खाजा र बन्दीबस्तीको सामानले टनक्कै भरेको । सुरक्षाकर्मीको डे«ेस, झोला, हिडाई पनि उस्तै उस्तै । कतै लडाईमा पो हिडिरहेका छैनौ जस्तै लाग्ने ।

सिमीगाउँमा साढे तीन बजेतिर पुग्यौ । गौरीशंकर होटलमा बासको व्यवस्था गर्यौ । यहाँबाट गौरीशंकर हिमाल चरिकोटबाट भन्दा फरक देखिदो रहेछ । सुरुमा त मैले अर्कै हिमाल पो रहेछ भनेर झुके । सूर्यास्त हुने बेलाको गौरीशंकर पूरै सुनौलो । हिमाल मन नपर्ने को नै होला । त्यही पनि सुनौलो । घाम नअस्ताउनजेल नियाली रहें हिमाललाई ।

बेलुकीको भान्छा स्थानीय खाना नै पकाउन आग्रह गर्यौ । सबैको मन मिल्ने भएर होला ढिडो, लोकल भालेको झोल । खानाप्रति कसैको असहमति देखेनौ । गाउँका खाना अर्गानिक स्वाद भएर होला नथप्ने सायद कोही निस्केनौ ।सिमीगाउँबाट बिहान चम्पा (सातु) र चौरीको घ्यू हालेको चिया मुछेर खाँदा कम्ता स्वाद आएन । खाजा खाएर ८ बजेतिर अघि बढ्यौ । बिहानको खाना सुर्मुचेमा बोलेन्द्र आचार्यको होटलमा खाने सल्लाह अघिल्लो दिनमै भनेका थियौ । ११ बजेतिर सुर्मुचेमा खाना खायौ । यहाँबाट गाईडको रुपमा बोलेन्द्र सरले दोर्जेछिरी शेर्पालाई भन्नु भएको रहेछ । उहाँले मेरो झोला र मैले डिएसपीको झोला बोके ।

आजको बास दोङाङ कि वेदिङ भन्नेमा केही सल्लाह भयो । तर वेदिङ पुग्न धेरै समय लाग्ने भएकाले दोङाङनै बस्ने निधो गर्यौ । क्याल्चेमा होटल बन्द थियो । नजिकै पानीको व्यवस्था र डाँडा भएकाले एकैछिन बिश्राम लियौ । हल्का खाजा खायौ । फोटो सेसन गर्यौ । दोङाङ नजिकै भएकाले सुस्त गतिमा अघि बढ्यौ । लगभग दोङाङमा ३ बजेतिरै बासमा पुग्यौ । दुई वटा होटलमा पाँच पाँच जना बाँडेर बस्ने व्यवस्था गरेको रहेछ दोर्जेछिरीले । उहाँकै सल्लाहअनुसार बस्यौ । समय निकै रहेकाले नजिकैको खोलामा फोटो सेसन भयो । घण्टौंसम्म रहदा पनि हेरिरहुँ झैं लाग्थ्यो खोलाको सुस्केरा, खोलाको बहाब । २ घण्टा बितेको पत्तै भएन यही खोलाको सुस्केराले ।

बिहान सबैरै हिड्ने सल्लाह थियो बेलुकाको । तर गाउँघरमा भन्ने गर्थे नेपालीको सल्लाह, खरानीको डल्ला भने जस्तै भयो । बिहान करिव ७ बजेतिर पो यात्रा अघि बढ्यो । किन कि आजको बासमा नागाउँ पुग्नु थियो । खोलै खोला, घना जंगल, अनि गौरीशंकर हिमालको दृश्यले हामीलाई अघि अघि तानिरहेको थियो । कोही सँगै भएन । किन कि कोही फोटो, कोही भिडियो कैद गर्दैमा साथी छुटेको महशुस नै नहुने । पट्यार लाग्दो बाटो नभएकाले हिडाईमा अल्छीनै थिएन । दोङाङबाट एकैचोटी विश्राममा थाङथिङमा पुुग्यौ । त्यहाँ बिहानको खाजा कफिसहित टिबटेन मःम थियो । २ डल्ला खाँदैमा पुग्ने ।

नजिकै खोला बग्ने । छोटा छोटा रुखहरु । चराचुरुङ्गीको चिरबिर चिरबिर आवाज, टलक्क टल्केको हिमाल हेर्दा हेर्दा बाटो सरेको पत्तै नहुने । थाङथिङ पुगेपछि न उकालो, न ओरालो बाटो । झन् अघि बढ्यो उतिकै सुन्दर सुन्दर दृश्यले पनि बाटो कटेको कटै । अझ ठाउँ ठाउँमा चौरी भेट्दा चौरीको घण्टीको आवाजले स्वागत गरेझैं लाग्ने । बाटो बाटोमा ओम मणि पद्मे होङ मन्त्र लेखेको ढुंगाको थुप्रोले ओठहरु त्यसै फतफताउथे । मनमा शान्ति महशुस हुन्थ्यो । साच्चिकै शान्ति भूमिमा पाइला टेकेको आभास हुन्थ्यो । यहाँ चलेको हावा पनि तिनै मन्त्रहरु बोकेर आएको भान हुन्थ्यो । आँखा सितल हुन्थ्यो । मन शान्त हुन्थ्यो । आवाज मलिन हुन्थ्यो ।

यस्तै यस्तै प्रकृतिको मनोरम दृश्य नियाल्दा नियाल्दै वेदिङ पुगेको थाहै भएन । वेदिङमा खाना खायौ । खाना खाएर बाहिर निस्कदा चिसो हावा चलेको थियो । पानी पर्ला झैं मौसम बिक्रेको थियो । तर वेदिङ गाउँ सुनसान थियो । होटल लजहरुमा ताल्चा झुण्डेको थियो । गाउँनै उठीबास भएको पो हो कि भनेझैं सुनसान देखिन्थ्यो । कहिकतै आवाजहरु सुन्दैन थियो । नजिकै रहेको खोलाको सुस्केराबाहेक कोही कतै आवाज थिएन ।

खाना खाएर हतार हतार अघि बढ्यौ । आज बेलैमा नागाउँ पुग्नु थियो । चिसो निकै बढेकाले न्यानो न्यानो लुगा लगायौ । नागाउँमा पुग्दा झमक्कै रात परिसकेको थियो । नागाउँ झन् पूरै सुनसान थियो । न मान्छेको चहलपहल, न कहीकतै कुकुर भुकेको आवाज । नागाउँमा बत्ती पनि छैन । बास समेत कुन होटल हो भनेर पत्ता लगाउनै गाह्रो । बल्लतल्ल कराउदै कराउदै पुग्यौ । पुसको महिना भएकाले चिसोको सिमा थिएन । ४२०० मिटर उचाईमा रहेको नागाउँमा धाराको पानी जमेको थियो । सानातिना खोलानालामा आइस जमेको देखिन्थ्यो । हामीले कुरा पनि गर्यौ यो मौसममा च्छोरोल्पा आउनु भनेको मुर्खता हो भनेर । तर कहिलेकाही मुर्खताले पनि राम्रो परिणाम निकाल्न सकिन्छ जस्तो लाग्छ । यदि मुर्खता नभएको भए त्यत्ति सुन्दर तस्बिर कैद गर्ने अवसर कसरी पाउथे र चरिकोटमा बसेर ।

बिहानै च्छोरोल्पा योजना बुनेका थियौ अघिल्लो बेलुकी । ती योजनामै सीमित रह्यो । बिहान लगभग साढे सात बजेतिर अघि बढ्यौ । नागाउँ पूरै सेताम्मे देखिन्थ्यो । वरिपरी हिमालले घेरिएको । बीचमा समथर भूभाग । त्यसैले रोल्वालिङ भ्याली पनि यस क्षेत्रलाई । च्छोरोल्पा कत्तिबेला पुग्न सकिन्छ भनेर सबैमा कौतुहलता थियो । सुनपातीको बास्नाले कतै आनन्द त कतै टाउको दुख्ला दुख्ला जस्तो भईरहेको थियो सबैमा । तर जत्ति अघि लम्कियो उतिनै सुन्दर दृश्यले सबैको मन लोभ्याई रहेको थियो ।

अझ च्छोरोल्पा ताल नजिकै रहेको चेकिगो हिमाललाई हात अलिकति लम्कायो भने छुन्छ कि जस्तै थियो । स्वाँस्वा, फ्वाँफ्वाँ गर्दै तालमा पुग्यौ । त्यहाँ पुग्दा त गाइड दोर्जेछिरी तालको बीचमा फरक फरक पोच दिईरहेका थिए । ताल पूरौ जमेको । अरु बेला नजिकै पुग्दा डर लाग्ने ताल अहिले विशाल टुडिखेल झैं लाग्थ्यो । रतिभर पनि मनमा डर लाग्दैन थियो । जोकोही पनि जमेको तालमा ताल दिन सकिन्थ्यो । खुशीले सबै उफ्रिन थाले । कोही टिकटक बनाउन थाले, कोही फोटो सेसन गर्न थाले । ४५८० मिटर उचाईमा रहेको च्छोरोल्पा हिमताल दक्षिण एसियाकै अग्लो उचाईमा रहेको हिमताल मानिन्छ । यसरी ताल जम्छ र ? भन्ने मेरो कौतुहलत प्रमाणित गरिदियो । सुन्न त मैले धेरै पहिला सुनेको कुरा हो, हिउँदमा चौरीहरु वारपार हुन्छ भनेर । तर यसपटक आफ्नै आँखाले देख्न पाईयो ।

  

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार १०:२५