२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

रामकुमारी झाँक्रीका चुनावी कमाण्डर शेषकान्त गौतम भ्रष्टाचारी ठहर, यस्तो छ अदालतको फैसला


२६ मंसिर, काठमाडौँ । नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव एवं गुल्मी क्षेत्र नम्बर २ मा पाँच दलीय गठबन्धनको साझा उम्मेदवार रहेकी रामकुमारी झाँक्रीको चुनावी कमाण्डर शेषकान्त गौतम भ्रष्टाचारी ठहर भएका छन । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका तत्कालीन कार्यकारी निर्देशक गौतमलाई आईतबर विशेष अदालतले भ्रष्टाचारी ठहर गर्दै कैद र जरिवानाको फैसला गरेको छ ।

आईतबार विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र सदस्य खुशीप्रसाद थारुको इजलासले गौतमसहित तत्कालीन शाखा प्रमुख रघुपति चौधरीलाई कैद सजाय हुने फैसला सुनाएको छ। उनीहरू दुवैलाई जरिवानासमेत तिराउने फैसला भएको विशेष अदालतले जनाएको छ।

चुनावी अभियानका क्रममा रामकुमारी झाँक्री र शेषकान्त गाैतम ।

विशेष अदालतमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार निवारण ऐन २०१९ को दफा १९९२० बमोजिम तीन महिनादेखि एक वर्षसम्म कैद तथा १० देखि ५० हजार रुपैयाँसम्म जरिवाना माग गर्दै मुद्दा दायर गरेको थियो ।

विशेष अदालतका उपरजिस्ट्रार नारदप्रसाद भट्टराईले गौतम र चौधरी दुबै जनालाई ३र३ महिना कैद र जनही १० हजार रुपैयाँ जरिवाना तिराउने फैसला भएको दैनिकीलाई जानकारी दिए । गौतम र चौधरीले योग्यता नपुगेका आवेदकहरूको दरखास्त फारमहरू ठीक छ भनी प्रतिवेदन दिएका थिए ।

गौतम मंसिर ४ को चुनावमा समाजवादीका नेता झाँक्रीलाई चुनाव जिताउन कमान्डर भएर हिडेँका थिए । उनी बामदेव गौतम पहिलो पटक गृहमन्त्री हुँदा उनको निजी सचिवालयमा काम गर्थे । सरकारी सेवामा भए पनि एमालेको राजनीतिमा जोडिएका उनी पछिल्लो समय भ्रष्टाचारको मुद्दा लागेपछि जोगिनका लागि भन्दै एमालेबाट विभाजन भएर सत्तारूढ बनेको समाजवादी पार्टीमा लागेका थिए ।

यो पनि पढ्नुहोस्

भ्रष्टाचारबाट उन्मुक्ति पाउन गठबन्धनकाे ओतमा शेषकान्त गाैतम

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार १४:०६